• कुमारबन्धु रुपाखेती
वीरगंजको बिर्तामा रहेको त्रिजुद्ध हाई स्कूलको नाम बेलाबेलामा परिवर्तन भइरहन्छ । म त्यहाँको विद्यार्थी छँदा यो विद्यालयको नाम सायद त्रिजुद्ध बहुउद्देश्यीय हाई स्कूल थियो, यो २०३१ सालको कुरा हो । अङ्ग्रेजीमा Trijoodha Vocational Secondry School लेखिएको सर्टिफिकेट मसँग अझै छ । यो विद्यालयको नामकरण के छ मलाई थाहा भएन, त्यतिखेर यो बहुद्देश्यीय हाई स्कूलमा होम साइन्स, टाइपराइटिङ, कृषि र औद्योगिक शिक्षासमेत पढाइन्थ्यो । यी विषयहरू ऐच्छिक थिए । कुनै एउटा पढ्नै पर्ने । अधिकांश केटी होम साइन्स पढ्थे ।
त्यतिखेरसमेत विद्यार्थीहरूले पढ्दै सीपमूलक कार्यको ज्ञान पाऊन् भनेर होम साइन्समा पाककला, कृषिमा खेतीपाती गर्न सिकाउने, टाइप गर्नको लागि टाइपराइटिङ सिकाउने र औद्योगिक शिक्षामा काठ (काष्ठकला)का सीपमूलक काम गर्न सिकाइन्थ्यो । हाम्रो बेलामा विद्यार्थीहरू कागझैं चनाखो, कुकुरझैं छोटो निद्रा, बकुलाझैं एकाग्रता भएर पढ्नुपर्छ भन्थे । पढाइ सँगसँगै कमाइ वर्जित मानिन्थ्यो । त्यति बेला कमाइ सँगसँगै पढाइ गर्दा पढाइमा बाधा हुने, पढाइभन्दा पैसातिर मन डोलिन्छ पनि भन्थे । ‘कमाए के चक्कर मे पढाइ छोड देहलस’ भन्थे ।
तर अचेल समय परिवर्तन भएछ । वीरगंजका कतिपय कलेजले सिक्दै कमाउने कला देखाउन विद्यार्थीहरूको सीप, जाँगर अनुसारको काम प्रदर्शन गरेर रोजगारमूलक, नाफामूलक काम गर्न प्रोत्साहित गरेका देखिन्छन् । अहिले योग्यता, दक्षता भएर पनि बेरोजगार हुनुपरेको, विदेशिनुपरेकाले यस्ता रचनात्मक र नौलो प्रयोगले निश्चय पनि विद्यार्थीहरूको आत्मबल र विश्वास बढ्ने देखिन्छ । ‘उत्तम व्यापार मध्यम नोकरी’ भन्ने त चलन नै छ तर वर्षमा एकपटक यस्तो सडक चटक देखाएर कलेजले प्रचारबाजी मात्र गरेको हो भने यस्ता प्रयाससमेत बालुवामा पानीसरह हुनेछ । शिक्षा र स्वास्थ्य व्यापार बनेको आरोप लाग्दै आएको पनि छ ।
महानगरमा सार्वजनिक शौचालयको अवस्था निराशाजनक छ । केही सांसद र विधायकहरूले प्रचारबाजीस्वरूप बनाएका शौचालयहरू अहिले चलनचल्तीमा छैनन् र डुङ्डुङ्ती गन्हाएर छेउछाउकाहरू आजित छन् । घण्टाघरमा महानगरपालिकाको स्वामित्वमा रहेको सशुल्क शौचालय मात्र कामयाब देखिन्छ । आधा संसार ढाकेका महिलाहरूको लागि छुट्टै महिला शौचालय यो महानगरमा भेटिंदैन । वीरगंज ठूलो व्यापारिक शहर हो । यहाँ भोरैदेखि ग्रामीण भेगका महिलाहरू ठूलो सङ्ख्यामा आउँछन् तर दिसापिसाबले च्याप्दा उनीहरूले ठूलै मानसिक र शारीरिक समस्याको सामना गर्नुपर्छ ।
शहरनजीकका महिलाहरू त आननफाननमा दौडादौड गर्दै आफ्नो घर पुगेर निवृत्त हुन्छन् तर गाउँबाट आएकाहरूको बिचल्ली देख्दा बिचरा अबला नारी भन्नुपर्ने हुन्छ । दिसापिसाब कसैले दिनभरि च्याप्न सक्छ र ? अति नै भएपछि बिचराहरू लाजै त्यागेर शहरका गल्ली, गल्छेडो र सुनसान एरिया खोजेर निवृत्त हुन्छन् । महिला शौचालय महानगरका माईस्थान, महावीरस्थान, आदर्शनगरतिर अनिवार्य भइसके तापनि सरोकारवालाहरू बुझ पचाएर, नीच मारेर बसेका छन् । वीरगंजका महिला अधिकारकर्मीहरूले यो कुरामा ध्यान पु¥याउन जरुरी देखिन्छ । महानगरमा सार्वजनिक सुलभ शौचालय नभएकाले नै सडकपेटी र ठेलामा व्यापार गर्नेहरूले नालीलाई शौचालय बनाएका छन् ।
वीरगंजका अस्पताल, बैंक, होटलहरूमा सुविधासम्पन्न शौचालय भएपनि त्यो ग्रामीण महिलाको पहुँच बाहिर छ । वीरगंज महानगरका थुप्रै नाला जीर्ण, ध्वस्त, जाम र खुला भेटिन्छन् । नालाका स्ल्याबहरू भाँचिएका छन्, जसले रोग र लामखुट्टेको प्रकोपसमेत बढेको छ । पालिकाहरूले विकासको फगत ढिंढोरा मात्र पिट्ने पोल खोलेको छ– शौचालय, महिला शौचालयले । महिलाहरूले कतिन्जेल कुना समाएर निवृत्त हुने ? कि त ‘गरीबको चमेली बोलिदिने कोही छैन’ भनिदिनुप¥यो । बरु राजमार्गहरूका होटल, पेट्रोल पम्पहरूले सबैले देख्नेगरी निश्शुल्क अनि महिला र पुरुषका बेग्लाबेग्लै शौचालय बनाएका देखिन्छन् । साफसुथरा पनि हुन्छ । महानगरमा महिला शौचालय किन छैन ? महिला जनप्रतिनिधिसमेत किन मौन ? महिला अधिकारकर्मीहरू खै ? धन्य यस्ताहरूले समेत ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए ।
रोलक्रम अनुसार प्रधानमन्त्री पाउने वाचा बन्धन थियो तर राणा शासनकालझैं रोलक्रम मिच्ने काम गरे प्रचण्डले । रोलक्रम अनुसार प्रचण्डपछि माधव अनि देउवाको प्रधानमन्त्री बन्ने पालो थियो । भष्मासुरको कथा पाठकहरूलाई थाहै होला । शक्ति आर्जन गर्न भष्मासुर पहिले शिवभक्त बने, आशीर्वाद पाएपछि पहिला शिवलाई नै भष्म गर्न दौडिए । अहिले यस्तैयस्तै चरित्र भएकाहरू काँधमा काँध मिलाएर मिलिजुली सरकार बनाउन तल्लीन छन् । रामायणकै उल्टा वाल्मीकिबाट रत्नाकर डाँकू बनेका प्रचण्डको रवैया सदाझैं झन्झन् अविश्वासी, विश्वासघातीमा परिणत हुँदै गएको छ अनि कता र कोबाट कसरी सञ्चालित छन् ? अब भन्न गा¥हो छैन । मिसन ८४ भन्दै प्रचण्ड मित्र ओलीले माधव र देउवालाई झुक्याउँदै बलिको बोका बनाउँदै मिसन ८० मैं करामत देखाए ।
राणा शासनकालमा रोलक्रम अनुसार जीवनमा एकपटक मात्र प्रधानमन्त्री बन्न पाइन्थ्यो । तर गणतन्त्रमा प्रधानमन्त्री बन्न जनमत र जनाधार नभए पनि एकपटक मात्रै नभई पटकपटक र आजीवन प्रधानमन्त्री बन्न पाइने अवस्था छ । राणाशासन र पञ्चायतकालभन्दा सजिलो र सस्तो तरीकाले प्रधानमन्त्री बन्न पाइने भएकाले ‘बहती गङ्गा’ मा हात धुन प्रचण्ड, देउवा, ओलीहरूको सानो झुन्ड सदैव सक्रिय देखिन्छन् । देउवाका लागि प्रधानमन्त्रीको कुर्सी ‘कर सके तो पार कर, वर्ना बर्दास्त कर’ जस्तै अनिश्चित बन्न पुगेको छ । ‘बनला पे हजार सार मिलेला, बिगडला मे एगो बहनोई ना होला’ आजको देउवाको अवस्था यस्तै छ ।
खेलकूदको स्तरीय मैदान भए तापनि वीरगंजमा खेलकूद प्रायः शून्य छ । रङ्गशाला र मैदानहरूको उचित हेरचाह भएको पनि पाइँदैन । सरकारी र निजी स्तरबाट खेलकूद निरुत्साहित हुँदै गए पनि वीरगंजमा खेलकूदका सामग्री बेचबिखन गर्ने पसलहरू बग्रेल्ती खुलेका छन् । किरण ट्रेडर्स वीरगंजमा खेलकूदका सामान बिक्री गर्ने सबैभन्दा पुरानो पसल हो । किरण ट्रेडर्स, नारायण स्पोट्र्स, नेपाल स्पोट्र्स, रसिला स्पोट्र्स, नेपाल म्युजिक, ग्लोबल स्पोट्र्सलगायत करीब एक दर्जन पसल खेलकूदका सामान बेच्न सक्रिय देखिन्छन् । यी व्यापारीहरूका अनुसार खेलकूदका सामानहरू अचेल शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट खरीद गर्न आउनेहरूको सङ्ख्या ज्यादा छ रे । ग्रामीण क्षेत्रमा अहिले छिटपुट विभिन्न खेलकूद भइरहने र ग्रामीण भेगका जनप्रतिनिधिहरूसमेत तुलनात्मकरूपमा खेलप्रेमी देखिएका पसलेहरू बताउँछन् । किरण ट्रेडर्सका सञ्चालक प्रकाश शाक्यका अनुसार अहिले ग्रामीण भेगमा खेलप्रेमीहरू बाक्लै देखिन्छन् भने शहरिया खेलप्रेमीहरू पातलिंदै गएका छन् ।
वीरगंजका खेलकूद पसलहरूमा चिनियाँ र भारतीय खेलकूदका सामग्रीको भरमार देखिन्छन् । रु ५५० देखि ५००० सम्म प्रतिगोटाको पूmटबलसमेत वीरगंजमा पाइन्छ । महँगो हुने भएकोले कुनै कुनै पसलेले मात्र जापानी सामग्री बेच्दा रहेछन् । भारतीय खेलकूद सामग्रीहरूमा ३५ देखि ४० प्रतिशतसम्म भन्सार महसूल लाग्ने भएकोले यताबाट थुप्रै खेलाडी पारि गएर खेलकूद सामग्री खरीद गर्नाले यहाँका व्यापारीहरू खिन्न देखिन्छन् । यहाँ १२०० पर्ने पूmटबल बुट पारिपट्टि भारु २५० देखि ३०० सम्ममा पाइन्छ । चाइनिज भलिबल, बास्केटबल, ब्याडमिन्टन, टिटी ब्याट र बल भारतीयभन्दा चाइनिज सस्तो हुन्छ ।
भारतीय ब्याडमिन्टन र कर्क बलियो हुने तर रक्सौलमा निकै सस्तो पर्नाले मानिसहरू यसका निम्तिसमेत पारिलाई नै रोज्छन् । त्यस्तै, प्रतियोगितामा विजेतालाई दिने शिल्ड, जर्सी, बुट, भलिबल, ह्यान्डबल, टिटी ब्याट र बल, ब्याडमिन्टन, कर्क आदि जस्ता सबै खेलकूदका सामग्री, कसरत गर्ने सामग्री आदि वीरगंजका पसलहरूमा भरपूर मात्रामा उपलब्ध भएपनि वीरगंजमा खेलकूद पछाडि पर्दै जानाले र भन्सार महसूल धेरै भएकाले भेराइटीको लागि लगानी गर्दासमेत वीरगंजमा उल्लेख्य बिक्री नभएको स्पोट्र्स विक्रेताहरूको गुनासो छ । खेलकूदको महŒव नबुझ्नाले महानगरमा खेलकूद सामग्री खपतमा -हास हुँदै गएको सहजै अनुमान गर्न सकिन्छ । मुलुककै खेलकूदको अवस्था निराशाजनक छ ।