प्रस, परवानीपुर, २८ फागुन/
वीरगंजकी एकजना वृद्धाको मरणोपरान्त आँखा दान गरिएको छ । वीरगंज महानगरपालिका–७ रामटोल बस्ने मदनलाल कादमियाकी आमा गङ्गादेवी कादमियाको मरणोपरान्त आँखा दान गरिएको हो ।

मृतक कादमियाको तीनजना छोराको राय र मृतक कादमियाको इच्छा अनुसार रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताललाई आँखा दान गरिएको हो । ८५ वर्षीया वृद्धाको सोमवार बिहान १ बजे निधन भएकोमा बिहान साढे ४ बजे खबर गर्दा उनको आँखाको नानी निकालेर आँखा बैंकमा जम्मा गरिएको अस्पताल व्यवस्थापक प्रकाशकुमार बर्माले जानकारी गराए ।

केडिया आँखा अस्पतालले ४९औं वर्ष पूरा गरी ५०औं वर्षमा प्रवेश गर्दा विभिन्न योजना सञ्चालन गरेको छ । त्यसमध्ये आँखा दानबाट सङ्कलित आँखाको नानी सङ्कलन गरी आँखा बैंकमा जम्मा गर्ने र आवश्यक परेका बिरामीलाई आँखाको नानी प्रत्यारोपण गर्ने योजना रहेको अस्पतालले जनाएको छ । मधेस प्रदेशका आँखा अस्पतालहरूमा आँखा बैंक नरहेकाले तिलगङ्गा आँखा अस्पतालको आँखा बैंंकमा सङ्कलित आँखाको नानी जम्मा गर्दै आएको र केडिया आँखा अस्पतालमा निकट भविष्यमैं आँखा बैंक स्थापनाको लागि पहल भइरहेको उनले बताए ।

अस्पतालमा आँखा बैंक स्थापनाको लागि साझेदार निकायलाई अग्रसर हुन उनले आग्रह गरे । मृत व्यक्तिको अन्त्येष्टि गर्दा आँखा जलेर नष्ट हुन्छ, तर आँखाको नानी दान गर्दा अन्य दुईजना दृष्टिविहीन व्यक्तिले आँखाले देख्न सक्ने हुन्छ । तसर्थ मरणोपरान्त आँखा दान गर्न अस्पतालले सर्वसाधारणलाई सुझाव दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here