• अनन्तकुमार लाल दास

यतिखेर जहाँ स्थानीय सरकार शिक्षामा सुधारका लागि प्रयत्नशील देखिन्छ त्यहीं शिक्षा क्षेत्रमा चलनचल्तीमा आएको शब्द हो–क्यारियर र पर्फरमेन्स । अभिभावकहरू कुनै पनि शर्तमा सम्झौता गर्न तयार छैनन् । उनीहरू बदलिंदो परिवेशका साथ आप्mना आकाङ्क्षाहरू अनुवाद गर्न शिक्षाको बदलिंदो तस्वीर हेर्न चाहन्छन् । सबै वर्ग र तप्काका अभिभावकहरू चाहन्छन् आप्mना सन्तानले गुणस्तरीय शिक्षा पाओस् । विद्यार्थीहरूमा सिर्जनशीलता प्रकट होस् र उनीहरूमा ज्ञानको भोक जागोस् । यसका लागि अनुकूल र सहज बाटो नयाँ शिक्षाले खोजी देओस् भन्ने अभिभावकहरूको चाहना रहेको छ । यसै सन्दर्भमा हामीले हाकाहाकी केही बहस गर्न खोजेका हौं ।

नयाँ शिक्षाद्वारा शिक्षाको स्वरूपमा परिवर्तन भन्ने कुरा चर्चामा आएको छ । बदलिंदो परिवेश अनुसार शिक्षा पनि फेर्नुपर्छ भन्ने कुरा उठिरहेको छ । आजको समाजमा नागरिकको वैयक्तिक स्वतन्त्रता र सम्प्रभुता स्वीकार गर्ने राज्यले अवधारणा बनाएको छ, जुन आवश्यक पनि छ । अधिकारका रूपमा मान्यता दिएमात्र सबैका लागि शिक्षाको अभियान सार्थकरूपमा सफल हुन सक्छ । आमूल परिवर्तनका लागि आँट र अठोट चाहिन्छ र त्यही रूपमा चाहिन्छ प्रस्ट दूरदृष्टि । सैद्धान्तिक प्रस्टताबेगर शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन गर्न सकिंदैन ।

अहिलेसम्मको अवस्थामा शिक्षाको तस्वीर लाजमर्दो र डरलाग्दो छ । व्यक्तिलाई केन्द्रमा राख्ने उदारवादी दृष्टिकोण अँगाले मात्र शिक्षा विद्यार्थी केन्द्रित, समान र न्यायपूर्ण हुन सक्छ । शिक्षालाई व्यक्तिको अधिकार मानिएका थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता, प्रावधान तथा कानूनी व्यवस्थाहरू छन् । अधिकार मान्नेबित्तिकै दुई पक्षको अस्तित्व सृजना हुन्छ–अधिकारवाला र दायित्ववाला । शिक्षा प्रत्येक व्यक्तिको अधिकार भएकोले व्यक्ति अधिकारवाला हो भने त्यसको परिपूर्ति गर्ने मूल दायित्व बोकेको सरकार दायित्ववाला हो । सरकारको दायित्व पूरा गर्न सघाउने जिम्मेवारी नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायको हो । यद्यपि मूल दायित्व राज्यकै हो । शिक्षालाई अधिकार मानेपछि यसलाई पूरा गर्ने दायित्व सृजना हुन्छ । हामीले शिक्षाको नयाँ स्वरूपबारे बहस गर्दा शिक्षाको उपर्युक्त आशय पनि मनन गर्नुपर्ने हुन्छ ।

आज वीरगंजेली शिक्षाप्रति स्थानीय सरकार, शिक्षक, विद्यार्थी वा अभिभावक कोही पनि सन्तुष्ट छैन । उकुसमुकुस चारैतिर छ, त्यसैले शिक्षामा क्रान्तिको आवश्यकता महसूस गरिएको छ । हामी यस्तो शिक्षा खोजिरहेका छौं जुन जीवनोपयोगी होस् । आज शिक्षाको उद्देश्यमा पनि परिवर्तन भएको छ । आज शिक्षा अङ्क र अक्षर लेखपढ गर्नु मात्र हैन । समाजशास्त्री गोविन्द अधिकारीले भनेका छन्–“यथार्थमा शिक्षा भनेको जिन्दगी पढ्नु हो ।” वास्तवमा शिक्षा व्यक्तिमा निहित प्रतिभा प्रस्फुटन हुने अवसरको मूल ढोका हो । शिक्षामा व्यक्ति विकासको सम्भावनाको ढोका खोल्ने पक्ष पनि समावेश हुन्छ ।

एउटा विद्यार्थीको दृष्टिमा वर्तमानको शिक्षा उसको लागि व्यक्तित्व विकासको साधक होइन, दिशाहीन बनाउने, दिग्भ्रमित पार्ने र “जा–गीर” खाने परनिर्भरता बनाउने बाटो हो । अहिलेको शिक्षाबाट न उच्च चारित्रिक गुणको विकास हुन्छ न आत्मविश्वासकै । स्वावलम्बी शिक्षा भन्दा पनि वैदेशिक रोजगारबारे भ्रम सिर्जना गर्ने शिक्षाबाट बढी के पो हासिल गर्न सकिन्छ ? अहिलेको शिक्षाले केवल ‘सुब्बासाहेब’ भन्न मात्र सिकाउँदो रहेछ । शिक्षाले सिर्जनशीलता पैदा नै गर्दैन र जीवन–दृष्टिमा मोतियाबिन्दु प्रकट गरिदिन्छ ।

बिचरा शिक्षकहरू पनि प्रसन्न छैनन् । उनीहरूको अनुभवमा आजको शिक्षामा शिक्षाशास्त्रका सम्पूर्ण सिद्धान्तहरूको भयङ्कर अवहेलना भइरहेको छ । यसमा शिक्षक र विद्यार्थीबीच कुनै भावनात्मक सम्बन्ध छैन । आप्mना अप्ठ्यारा, चुनौती र गलफाँसो परेका शिक्षकहरू विद्यार्थीको आवश्यकतातिर ध्यान पनि दिन सकिरहेका छैनन् । दूषित परीक्षा पद्धतिको चपेटामा परेका विद्यार्थीहरूसँग पारस्परिकताको अनुभव पनि गर्दैनन् । प्रायः देखिन्छ शिक्षक र विद्यार्थी दुई किनारका माझी हुन् वा दुई परस्पर विरोधी दलका लठैत, जो प्रायः भिड्न खोजिरहन्छन् ।

अभिभावकको हाल त झन् बेहाल छ । अभिभावकहरूको सोचाइमा यस शिक्षाले समानता र स्वतन्त्रताको उत्प्रेरणा गर्दैन । यसमा सामाजिक समस्याको कुनै अध्ययन हुँदैन । नयाँ समाज निर्माणका लागि युगान्तकारी बनाउने कार्य यस शिक्षाले गर्दैन । यस शिक्षाले जहाँ हाम्रा सन्तानका लागि उपयोगी शिक्षा दिंदैन भने शिक्षा पूरा नहुँदै बेरोजगारीको सुनामी ल्याइदिन्छ । वास्तवमा शिक्षाले समाजको समस्या सुल्झाउन सक्नुपर्छ, तर यहाँ त शिक्षा नै समाजका लागि समस्या बनिरहेको छ । शिक्षा विकास होइन, अवरोध बनिरहेको छ । यसले अल्झाउने भुमरीको काम गरिरहेको छ । शिक्षाले विद्यार्थी र शिक्षकबीच आत्मीयता त निर्माण गर्दै गर्दैन, बरु विद्यार्थीहरूलाई पनि अभिभावकबाट विमुख बनाउँछ । अभिभावकहरूले हसतक्षेप गर्ने र विद्यार्थीको शिक्षण कार्यमा सिर्जनशीलता थप्ने कुनै गुन्जाइस नै छैन ।

यसरी हामी के पाउँछौं भने विद्यार्थी, शिक्षक र अभिभावकको दृष्टिकोणमा शिक्षामा विभिन्न किसिमको खोट रहेको छ । यिनका चिन्तन तर्कहीन पनि छैन । शिक्षालाई नयाँ स्वरूप दिनका लागि पनि यी खोटहरूको लक्ष्मणरेखा उल्लङ्घन गर्नैपर्छ । यस्तो परिस्थितिमा हामीले नयाँ शिक्षाको चिन्तन र वातावरण निर्माण गर्नुपरेको छ र अन्ततः शिक्षामा क्रान्ति ल्याउनु छ । हामी के चाहन्छौं भने समाजको वातावरण वर्तमान शिक्षाको क्रम भङ्ग गर्ने खालको बनोस् । हामी विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाविद् र नागरिक समाज एक आपसमा सरसल्लाह गरी नयाँ शिक्षाको मङ्गलाचरण गरौं ।

नयाँ स्वरूप बोकेको शिक्षा नवीन समाजको द्योतक बनोस् । शिक्षामा क्रान्ति केवल शिक्षा क्षेत्रमा परिवर्तनका लागि हुनुहुँदैन किनभने शिक्षा समग्र समाजको अङ्ग हो । अतः शिक्षामा क्रान्ति एउटा समग्र क्रान्तिको अङ्गको रूपमा विकसित हुनुपर्छ । क्रान्तिपछि जुन शिक्षा प्रारम्भ हुन्छ त्यसमा विद्यार्थीहरूले अपनत्व अनुभूत गर्नेछन् र अभिभावकहरूले स्वामित्व । शिक्षकहरू आपूmलाई सूत्रधार ठान्नेछन् र एउटा शैक्षिक परिवेश निर्माण हुनेछ, जसले प्रकारान्तरमा विद्यामुखी समाज निर्माण गर्नेछ । अनि मात्र ज्ञान प्राप्ति संस्कृतिको अभिन्न अङ्ग बन्न पुग्छ ।

यस विषयमा विभिन्न कोणबाट छलफल हुनुपर्दछ । विभिन्न कोणबाट मुद्दाको उठान हुनुपर्दछ । यस प्रकारको शिक्षाले विद्यार्थीहरूलाई यान्त्रिक बनाउने होइन, यसले विद्यार्थीहरूलाई कर्मवीर बनाउँछ । यसले विद्यार्थीहरूलाई आज जस्तो बजारको उत्पादन होइन, स्वयं बजारको अनुभूति गराउँछ । यसका लागि ससाना स्तरमा पनि गम्भीर छलफल हुनुपर्दछ । यस प्रकारको शिक्षाले पिद्यार्थी र शिक्षकबीच प्रेम, स्वतन्त्रता, सद्भाव र सहविकासको जीवित सम्बन्ध स्थापित गर्छ । शिक्षाबाट जीवनको उद्देश्य प्रस्ट हुन्छ । व्यक्तित्व विकास र जीवनोपयोगी कामको प्रत्यक्ष ज्ञान हुन्छ । समाजलाई अग्रगति दिने र शिक्षाको पाठ्यक्रम आकर्षित गर्ने खालका हुन्छ । यसमा परिस्थिति अनुसार परिवर्तनको लचिलोपना पनि हुन्छ । शिक्षा विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउने र उद्यमशीलताको विकास गर्ने खालको हुनुपर्छ । यसबाट विद्यार्थीहरूमा स्वानुशासन र सामाजिकताको विकासको पूर्ण अवसर प्राप्त हुन्छ । यसरी आत्मनिर्भरता, समाज र राष्ट्रप्रतिको दायित्व, निरन्तर सिर्जनशीलता, लक्ष्यप्रति दृढता राख्ने पक्षहरू नयाँ पाठ्यक्रमबाट सिद्ध होस् ।

नयाँ स्वरूपको शिक्षामा विद्यार्थीहरूको मूल्याङ्कन उनीहरूको स्मरण शक्तिको आधारमा मात्र नभई समग्र विकासको आधारमा होस् । मूल्याङ्कनको यो परिपाटी आवधिक लिने परीक्षाको आधारमा नभई वर्षभरि नियमित मूल्याङ्कन अभिलेखको आधारमा हुनुपर्छ । हाल यसै शैक्षिक सत्रदेखि यो आन्तरिक मूल्याङ्कन पद्धति लागू गरिएको छ । तर कुनै पनि विद्यालयले यसलाई व्यवहारमा ल्याएको देखिंदैन । यसैगरी परीक्षाहरूको सम्बन्ध केवल जागीरसँग नहोस् र शिक्षा ‘दास’ मनोविज्ञानबाट मुक्त होस् । शिक्षाको प्रबन्ध स्थानीय सरकारले स्थानीय आवश्यकताको पहिचान गरेर गरोस् ।

शिक्षामा हामीले हे¥यौं, भोग्यौं गरीबका छोराछोरीहरू तीक्ष्ण बुद्धिका भएर पनि पछाडि धकेलिन्छन् । धनीका छोराछोरीहरू रकमको दबाबमा डिग्री हासिल गर्छन् । यस कारण समाजमा शिक्षाले गर्दा वर्ग विभेद निर्माण भयो । शिक्षाले नै समाजलाई वर्गमा विभाजित ग¥यो । अबको शिक्षा पद्धति आप्mना सम्पूर्ण नागरिकप्रति जिम्मेवार अधिकारमुखी अवधारणाको रूपमा आउनुपर्छ । सरकारले प्राथमिकता र प्रतिबद्धता यथार्थमा नै प्रकट गरेमा मात्र ‘सबैका लागि शिक्षा’ चरितार्थ हुन सक्छ । यसका लागि राजनीतक दलहरूले पनि शिक्षालाई भागबन्डाबाट टाढा राख्नुपर्छ । सबैको लागि शिक्षा सार्थक हुन सबैको शिक्षामा समान पहुँच कायम हुनुपर्दछ । यसको व्यवस्थापनमा विद्यार्थी, शिक्षक र अभिभावक पनि साझेदार रहनुपर्दछ किनभने शिक्षाले समाजमा गुणात्मक सुधार ल्याउन सकेन भने त्यसको सार्थकता रहँदैन ।

वर्तमान शिक्षाको विकल्पमा केही कोणबाट जुन मुद्दाहरूको उठान गरिएको छ त्यो फगत कल्पना हैन । केही प्रयोग र अनुभवका आधारमा उब्जेका पक्षहरू हुन् । वर्तमान शिक्षाको विकल्पको रूपमा नयाँ स्वरूपको शिक्षा नीतिबारे र त्यसको उपयोगिताको सान्दर्भिकताबारे जति बढी छलफल र मन्थन हुन्छ, त्यति नै यसको सामाजिक स्वीकार्यता बढ्छ । त्यसैले यी बहसहरूमा शिक्षा पत्रकार वा शिक्षक वा शिक्षाविद्हरूको मात्र हिस्सेदारी नभई बहसमा जति बढी अभिभावकको हिस्सेदारी हुन्छ, विद्यार्थी सङ्गठनहरूको समर्थन प्राप्त हुन्छ त्यतिकै यसलाई विवादमुक्त बनाउन सकिन्छ ।

राष्ट्र निर्माणको महŒवपूर्ण पाइलाको रूपमा नयाँ स्वरूपको शिक्षालाई हेरिएको छ । त्यस कारण यसमा शिक्षा पत्रकारहरूको महŒवपूर्ण भूमिका हुन जान्छ । बहसका विभिन्न कोणबारे जनतालाई सूसूचित गराउने, पक्ष विपक्षमा छलफल चलाउने, साझा सहमति बनाउने र एउटा सार्थक जनमत तयार गर्ने काममा शिक्षा पत्रकारहरू चुक्नुहुँदैन । यस सवालमा उठाइने विषयवस्तुहरू सनसनीखेज वा चटनी मार्काभन्दा चिन्तनमुखी हुनुपर्दछ । यी विषयहरू स्थानीयको स्वास्थ्य र स्वार्थसँग गाँसिएको हुनाले गम्भीरतापूर्वक विषय प्रवेश गराइनुपर्दछ । छलफल अहम् तुष्टिका लागि नहोस् त्यसप्रति सजग रहनुपर्दछ र बढीभन्दा बढी दृष्टिकोणहरूको प्रक्षेपण गरेर मतैक्यता निर्माण गर्ने काम शिक्षा पत्रकार र सञ्चार माध्यमहरूले गर्नुपर्दछ । वर्तमान समय शिक्षाको मङ्गलाचरणको बेला हो । हामी एउटा सार्थक बहस शुभारम्भ गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here