बाघ नियन्त्रणका लागि हात्तीको सहयोग, बाघ देखा परेन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, २६ फागुन/
सखुवाप्रसौनी गाउँपालिका–२ मा हिजोदेखि बाघ नियन्त्रणमा लिने अभियान सफल हुन सकेको छैन । हिजो शुक्रवार दिनभरि बाघका कारण सखुवाप्रसौनी–२ आतङ्कित बनेको थियो । सो वडाका एकजना किसान बिहान उखु काट्न खेतमा गएका बेला दुईवटा बाघलाई देखेका थिए ।

उनको सूचनापछि प्रहरी र स्थानीयहरू भेला भएर एउटा बाघलाई उखुखेतबाट जङ्गलतर्फ भगाए भने अर्काे बाघ उखुखेतमैं लुकेको थियो । उखुखेतमा लुकेको बाघलाई नियन्त्रणमा लिन हिजो सेना, जनपद र सशस्त्र प्रहरी, निकुञ्ज प्रशासन र स्थानीयले प्रयास गरेका थिए । हिजो राति बाघ नियन्त्रणका लागि दुईवटा हात्ती राति नै आएका र आज दिनभर उखुखेत र आसपासका खोला किनारमा खोजी गरिएको थियो ।

आज बाघ देखिएको बारेमा कतैबाट पनि सूचना प्राप्त नभएको सखुवाप्रसौनी गापाध्यक्ष यशवन्त यादवले बताए । उनले श्रीपुर पंचगावाँस्थित पुरानो सेनाको ब्यारेकमा दुईवटा हात्ती राखिएको र बाघको सूचना पाएलगत्तै परिचालन गरिने बताए । बाघलाई नियन्त्रणमा लिनका लागि हिजो चितवन राष्ट्रिय निकुञ्जबाट डा विप्लव कार्कीको टोली आएको थियो ।

केही महीनादेखि जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गापा तथा पर्सागढी नपाका मानिसहरू बाघका कारण भयभीत रहँदै आएका छन् । बाघकै कारण सो क्षेत्रका जनता साँझ पर्नेबित्तिकै घरबाट बाहिर ननिस्कनै डराउने, हुलाकी सडक सुनसान हुने र घरमा पनि आलोपालो गरी जाग्राम बस्ने गरेका छन् ।

बाघको आक्रमणबाट विगत तीन महीनामा दुईजनाको मृत्यु भएको छ भने थुप्रै मानिस घाइते भएका छन् । बाघले सो क्षेत्रका पशुचौपायाहरूलाई पनि मारेको र घाइते पारेको छ । यस अवधिमा तीनवटा बाघ पनि मरेको अवस्थामा फेला परेका छन् भने ज्युँदा बाघहरूको आक्रमणमा कमी आएको छैन ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रसँग जोडिएका बस्तीहरूमा बाघको आक्रमण बढ्दो छ । निकुञ्जले जङ्गली जनावर बस्तीमा आउन नदिन तारबारको बन्दोबस्त नगर्दा जङ्गली जनावरहरूबाट वनक्षेत्रमा बसोबास गर्दै आएका मानिसहरू बढी प्रभावित हुने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस