प्रस, रौतहट, २५ फागुन/
रौतहट जिल्लामा डिजे बाजा बजाउन जिल्ला प्रहरी कार्यालय, रौतहटले रोक लगाएको छ । सार्वजनिक बाटो, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानहरूमा नागरिकको स्वास्थ्यमा जोखिम बढ्न सक्ने गरी चर्को ध्वनिमा अभद्र र उच्छृङ्खल प्रकारका गीत, सङ्गीत बजाउँदा सामाजिक द्वन्द्वको वातावरणसमेत सिर्जना हुने गरेको, समाजमा मानसिक तथा शारीरिक समस्या उत्पन्न भएको, झैंझगडाका घटनाहरू बढेका, विद्यार्थीहरूको पठनपाठन, सरकारी कार्यालयहरूको कामकाजमा असर परेको भन्दै व्यापक जनगुनासा बढेकाले चर्को स्वरमा डिजे बजाउन जिल्ला प्रहरी कार्यालय, रौतहटले रोक लगाएको हो ।

चर्को स्वरमा डिजे बजाएर समाजमा प्रतिकूल असर पार्ने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारबाई हुने प्रहरीले चेतावनी दिएको छ ।

ध्वनि प्रदूषणबाट झिझ्याहट हुने, गर्भवती महिलाहरूको गर्भ खेर जान सक्ने, मुटुरोगीहरूलाई समस्या हुने, कानको श्रवणशक्तिमा कमी आउने, वृद्धवृद्धाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने, ध्वनि प्रदूषणबाट बालबालिकाहरू राति बेचैन र अनिद्राको शिकार हुने जस्ता समस्याहरू देखा परेकाले चर्काे स्वरमा डिजे बजाउन प्रहरीले रोक लगाएको हो । यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

रौतहट जिल्लाका विभिन्न पालिकाहरूमा अहिले पूजापाठ, विवाह, व्रतबन्ध, पूजा मटकोर, हनुमान आराधना, कीर्तन जस्ता धार्मिक तथा सामाजिक उत्सवहरूमा चर्को ध्वनिमा डिजे बजाउने प्रचलन बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here