प्रस, वीरगंज, २५ फागुन/
वीरगंज महानगरपालिका–१२ का शम्भु महतो र सविता महतोलाई छोराको शङ्कास्पद मृत्युको विषयमा पर्सा प्रहरीले बिहीवार राति अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
शम्भु र सविताका १२ वर्षीय छोरा दिलीप मण्डलको हिजो शङ्कास्पद मृत्यु भएको र प्रहरीलाई खबर नगरी गुपचुप गाडेर अन्तिम संस्कार गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मृतक दिलीपको शवलाई गाडेको स्थानबाट निकालेर शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाएको छ ।
स्थानीयवासीका अनुसार दिलीप लागूऔषध प्रयोगकर्ता थिए । बुबा र आमा गरीब रहेका कारण दिलीपको चोरी गरेर लागूऔषध सेवन गर्ने कुलत बढेको थियो । टोलसमाजबाट दैनिक गुनासाहरू आएपछि आमाबुबाले दिलीपलाई घरमा थुनेर काममा जाने गर्दै आएका थिए ।
हिजो पनि त्यस्तै गरेको र कामबाट घर आउँदा छोरा मृत अवस्थामा फेला परेको शम्भु र सविताले प्रहरीलाई प्रारम्भिक बयानमा बताएका छन् । छोरा मृत फेला परेको कारण डराएर हतारहतार राधेमाईस्थित श्रीसिया खोलाको किनारमा खाल्डो खनेर गाडेको उनीहरूले बताएका छन् ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले छोराको शङ्कास्पद मृत्यु भएको सूचनाको आधारमा आमा र बुबालाई सोधपूछका लागि नियन्त्रणमा लिएको र उनीहरूकै बयानका आधारमा गाडिएको स्थानबाट शव निकालेर शल्यपरीक्षणका लागि नारायणी अस्पताल पठाएको बताए । प्रवक्ता थापाले मृतक दिलीप लागूऔषध प्रयोगकर्ता भएको स्थानीयबाट थाहा भएको र आमाबुबाबाट पनि सोही कुरा खुलेको बताए । उनले मृत्यु स्वाभाविक अथवा अन्य यसबारेमा शल्यपरीक्षण प्रतिवेदनबाट खुल्ने बताए ।