नितेश कर्ण, वीरगंज, २५ फागुन/
मानव बेचबिखन नियन्त्रण एकाइ एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७औं वाहिनी रक्सौलले एकजना नेपाली नाबालिकालाई उद्धार गरेको छ ।

१४ वर्षीय नेपाली नाबालिकालाई सामाजिक सञ्जालमार्फत इस्राफिल अन्सारीले मुन्ना महतोको नामबाट प्रेमजालमा फसाएर भारत लगेर विवाहसमेत गरेका थिए । एसएसबीका प्रहरी निरीक्षक मनोज शर्माले भारतको उत्तराखण्डको भीमतालबाट नाबालिकाको उद्धार गरी परिवारको जिम्मा लगाएका थिए ।

घटनामा सामाजिक सञ्जालमार्फत नाबालिकालाई आफ्नो पहिचान लुकाएर फसाएको र बिहे गरेको कसूरमा मुन्ना महतो भन्ने इस्राफिल अन्सारीलाई पक्राउ गरेको प्रनि शर्माले बताए । पक्राउ परेका इस्राफिल अन्सारीको यसअघि दुईवटा बिहे भएको उनले बताए ।

उद्धार गरिएकी नाबालिकाले आफूलाई सामाजिक सञ्जालबाट मुन्ना महतो बताएको र प्रेमजालमा फसाएर उत्तराखण्ड लगी बिहे गरेको बताइन् । उनले मुन्नाको असली नाम इस्राफिल अन्सारी रहेको एक दिन मुन्नाले मोबाइल घरमा बिर्सेर गएको बखत त्यसमा आएको फोनकर्ताबाट थाहा भएको बताइन् ।

उनले आफूलाई केरला लैजान भनिएको तर यसै क्रममा प्रहरीले उद्धार गरेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here