मौसम परिवर्तन भएझैं अहिले नेपालको राजनीति पनि परिवर्तन भएको छ । करीब १४ महीना नेपाली काङ्ग्रेससहितको गठबन्धन सरकारको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेसबाट छाडेर एमालेसँग सामीप्यता बढाइ नयाँ सरकार बनाएका छन् । राजनीतिमा आएको यो परिवर्तनसँगै प्रतिपक्षमा रहेको एमाले सत्तापक्ष र सत्तापक्षमा रहेको नेपाली काङ्ग्रेस प्रतिपक्ष बनेको छ । एमालेसँगको सहकार्यमा प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रिमण्डल गठन गरिसकेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) अहिले नयाँ गठबन्धनका सत्तासाझेदार बनेका छन् । एमाले र रास्वपाबाहेक जसपा र नेकपा (एस) यसअघि नेका सम्मिलित गठबन्धनमा थिए । काङ्ग्रेससँगको साथ छाडेर एमालेको साथ लिनुमा प्रम प्रचण्डले काङ्ग्रेसको कामकारबाही शङ्कास्पद भएको आरोप लगाएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतको असहयोग, नेकाको महासमितिबाट जनयुद्धप्रतिको विषवमन, गठबन्धन छाडेर आगामी चुनावमा एकल सहभागित र हिन्दू राष्ट्रको मुद्दामा बहस शुरू गराउने जस्ता कारणहरू तेस्र्याएका छन् ।
काङ्ग्रेस भने प्रम प्रचण्डलाई दोष देखाउँदै गद्दारको संज्ञा दिंदैछ । आफ्नो अभीष्ट पूरा गर्नका लागि गठबन्धन छाडेर नयाँ समीकरण बनाएको काङ्ग्रेसले आरोप लगाउँदै चिनियाँ ऋण सहयोग बिआरआई पारित गराउने योजनाअनुरूप नयाँ समीकरण भएको आरोप लगाएको छ । हिजोसम्म गठबन्धनलाई सत्तोसराप गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रम प्रचण्डको बचाउमा लागिपरेका छन् । उनले नेकपा विभाजित भएर माओवादी अलग्गिएको र आफ्नो पार्टी चोइटिएर नेकपा (एस) बनेको कुरालाई अहिले नयाँ समीकरण बनेपछि बिर्सेका छन् । कुनै पनि हालतमा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग सहकार्य नहुने घोषणा गरेका ओली नयाँ समीकरण टिकाउन उनै नेपालको स्वास्थ्यलाभको लागि करीब दुई वर्षको अन्तरालमा उनकै घरमैं पुगे । प्रम प्रचण्डले यसअघि दुईपटक धोखा दिएको कुरालाई ओलीले स्मरणमा राखे पनि अहिले लाज पचाउनुपरेको छ ।
नेकपाको लगभग दुई तिहाइ बहुमत हुँदा तत्कालीन प्रम ओलीले दुई/दुई पटक संसद् विघटन गरेको कुरालाई प्रम प्रचण्डले बिर्सेका छन् । संसद् विघटनपछि ओलीको विरुद्धमा गठबन्धन बनेको थियो । गठबन्धनबाटै प्रचण्डले गएको चुनाव लडेका थिए । त्यसपछि काङ्ग्रेसले प्रधानमन्त्री पद दिन नमानेपछि प्रम प्रचण्ड एमालेसँग टाँसिएर प्रम भएका थिए । राष्ट्रपतिको चुनावमा एमालेलाई छाडेर पुनः काङ्ग्रेससहितको पुरानो गठबन्धनमा गएका प्रम प्रचण्ड अहिले राष्ट्रियसभा अध्यक्षको चुनावको लागि एमालेसहितको नयाँ समीकरणमा छन् । अहिले नयाँ समीकरणलाई विश्वासको मत लिन असहज छैन । बहुमत जुटेको छ तर नेपाली जनताले आशा र विश्वास राखेको सरकार भने अहिले पनि बन्न सकेको छैन । यो सरकारको आयु लामो छैन भन्ने कुरा प्रायः सबैलाई थाहा छ । यो अवस्थामा दीर्घकालीन सरकारका लागि एमाले–काङ्गेस सम्मिलित सरकार बनेको खण्डमा जनता केही आशावादी हुने थिए ।