प्रस, परवानीपुर, २४ फागुन/
बारा जिल्लाको दक्षिणी भेगमा पनि ड्रागनफ्रुटको व्यावसायिक खेती शुरू भएको छ । उत्तरी भेग निजगढ र सिमरामा ड्रागनफ्रुटको खेती शुरू भए तापनि विश्रामपुर गाउँपालिका–५ नकटुवामा यसको खेती भइरहेको छ ।
एक वर्षदेखि प्रसौनी गाउँपालिका–१ बस्ने मन्त्रीलाल गुप्ताले यो खेती शुरू गरेका छन् । ५४ वर्षीय गुप्ता प्रभु बैंकको पूर्व प्रदेश प्रमुखसमेत हुन् । २८ वर्ष दुई महीना बैंकिङ क्षेत्रमा बिताएका गुप्ताले स्थानीयस्तरमा कृषिउपज उत्पादन गर्न र रोजगार सिर्जना गर्न नयाँ खेतीको रूपमा ड्रागनफ्रुटको खेती शुरू गरेका हुन् ।
एमए, एमबिएस र एलएलबीको शिक्ष्Fा हासिल गरेका गुप्ताले दुई बिघा क्षेत्रफलमा ड्रागनफ्रुट लगाएका छन् भने १३ कट्ठामा कुरिलो पनि रोपेका छन् । १३ कट्ठा आप्mनो जग्गा र बाँकी भाडामा लिएर उनले खेती शुरू गरेका हुन् । उनले ड्रागनफ्रुट र कुरिलो खेतीमा तीन करोड रुपैयाँ लगानी लागेको बताए । जसमा उनको व्यक्तिगत र ग्लोबल आइएमई बैंकबाट ऋण लिएका छन् ।
दैनिक १०–१२ घण्टा खेतमा काम गर्ने गुप्ताले भने, “कम समयमा बढी मूल्यको उत्पादन उब्जाएर कृषिमा आकर्षण थप्न सकिने र मधेसको हावापानी सुहाउँदो ड्रागनफ्रुट र कुरिलो उपयुक्त बाली भएकोले खेती गरेको हुँ ।”
उनले खेती गर्नुअगाडि धनुषामा एकजना किसानले गरेको ड्रागनफ्रुटको खेतीको अध्ययन, अवलोकन, लगाउने सिजनलगायतका बारेमा अध्ययन गरेका थिए । ड्रागनफ्रुट अहिले नेपाली बजारमा प्रतिकिलो रु ६०० मा बिक्री हुन्छ भने कुरिलो प्रतिकिलो रु १५००–१८०० मा बिक्री हुन्छ । आगामी असारदेखि फल फल्न शुरू गर्ने ड्रागनफ्रुटको उत्पादन शुरू भएपछि पहिलो वर्षमैं करीब ३०–५० लाख आम्दानी हुने उनी बताउँछन् । साथै उनले ड्रागनफ्रुटको नर्सरी पनि शुरू गरी एउटा ड्रागनफ्रुटको बिरुवा रु १५० मा बिक्री गरिरहेका छन् । अहिलेसम्म उनले १२ जना स्थानीयलाई रोजगार दिएका छन् ।