प्रस, वीरगंज, २३ फागुन/
जिल्ला प्रशासन कार्यालय, पर्साका कर्मचारीहरूको लापरवाहीको शिकार सेवाग्राहीहरू हुन परेको छ ।

खासगरी अशिक्षित सेवाग्राहीहरूले झनै मार खेपिरहेका छन् । नागरिकता बनाउने क्रममा अशिक्षित सेवाग्राहीले जिप्रका, पर्साका कर्मचारीहरूले जे नाम, ठेगाना लेखेर दियो सहर्ष स्वीकारेर जाने गर्थे । तर सोही नागरिकता हराएर प्रतिलिपि बनाउने क्रममा भने उनीहरूले विभिन्न खाले समस्याहरू झेल्नुपरेको छ ।

कर्मचारीहरूको लापरवाहीले कसैको नाम शुद्ध नभएको, ठेगाना गलत भएको र प्रतिलिपि लिने क्रममा उनीहरूलाई समस्या भएको हो । पर्सा जिल्ला धोबिनी गाउँपालिका–३ गुलरिया निवासी लालपरिदेवी कनुइन विगत तीन सातादेखि जिप्रका र वडा कार्यालय धाउँदै आएकी छन् । उनको नामको अगाडि श्रीमती जोडिएको र अहिले सोही विषयलाई लिएर श्रीमती हटाउन उनले वडा कार्यालय, प्रहरी कार्यालय आदिको चक्कर लगाउनुपरेको हो । उनले आफू पढेलेखेको नभएको र नागरिकता लिने क्रममा सो बखतका कर्मचारीले नामको अगाडि श्रीमती जोडिदिएकाले अहिले प्रतिलिपि लिने क्रममा दुःख पाएको बताए ।

जिल्ला प्रशासन कार्यालय, पर्साको नागरिकता फाँटमा अहिले प्रतिलिपि सच्याउनेहरूको भीड बढेको छ । कम पढेलेखेका सेवाग्राहीलाई भोलि आउनु, पर्सि आउनु भनेर धपाउने प्रवृत्ति पनि बढेको छ । अनलाइन निवेदन भरेर सातापछि नम्बर आउने र त्यसपछि पनि यो भएन, त्यो भएन भनेर प्रमाण खोजीको नाममा दुःख दिने प्रवृत्ति बढेको सेवाग्राहीहरूको गुनासो छ ।

नागरिकता फाँटको यो समस्या राहदानी फाँटमा पनि छ । राहदानी लिने क्रममा पनि नाम, ठेगाना, नम्बर बिगारेर दुःख दिने कार्य हुँदै आएको एकजना सेवाग्राहीले बताए । सामान्यतया राहदानीको लागि रु पाँच हजार शुल्क लाग्छ भने दु्रत सेवामा दोब्बरी शुल्क तिर्नुपर्छ । सामान्य नागरिकलाई थाहा छैन कि यसरी बिग्रिएको कुरा एक सातामा सच्चाउनुपर्छ । सो अवधिपछि आउने सेवाग्राहीहरूलाई थप शुल्क तिर्नुपर्ने र थप झन्झटको सामना गर्नुपर्ने हुन्छ ।
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रजिअ धु्रव लम्साल यस्ता त्रुटि हुनुमा सेवाग्राहीहरूको कमजोरी भएको बताउँछन् ।

नागरिकता, राहदानी बुझ्ने बखतमा त्यसमा भएका त्रुटिबारेमा देखाउँदा तत्कालै र एक साताभित्रको समयसम्म सच्याउन सकिने प्रावधान रहेको उनी बताउँछन् । त्यसपछिको समयमा भने प्रचलित नियम कानून अनुसार हुने गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here