कुनै बखत माछामा परनिर्भर रहेको पर्सा जिल्ला हालका केही वर्षदेखि माछामा आत्मनिर्भर छ । यसअघि छिमेकी बारा जिल्लाबाट स्थानीय माछा र भारतको आन्ध्र प्रदेशबाट तीन/चार दिनको अन्तरालमा आउने माछाले यहाँको बजार धानेको थियो । भारतको आन्ध्र प्रदेशको ठूला आकारका माछाको बजार अहिले पनि छ, ठूला आकारका माछा विवाह, उत्सवहरूमा गरिने पार्टीहरूमा सीमित बन्दै गएको छ । स्थानीय माछा बारा जिल्लाका बोधवन र सिम्रौनगढबाट आउँथ्यो । अहिले पर्सा जिल्लामैं स्थानीय माछाको उत्पादन बढ्दो छ र माछा उत्पादनमा जिल्ला आत्मनिर्भर भएर अन्य जिल्लामा निर्यात पनि गर्दैछ । चितवन, पोखरा, काठमाडौंलगायत छिमेकी भारतका सीमावर्ती क्षेत्रमा समेत पर्सा जिल्लाका माछाको बजार विस्तार हुँदै भएको छ । कृषि ज्ञान केन्द्र, पर्साका अनुसार पर्सा जिल्लामा वार्षिक आन्तरिक खपत प्रतिव्यक्ति साढे तीन किलो रहेको छ ।
अहिले पर्सामा ५७१ हेक्टर क्षेत्रफलमा जलाशय छ भने ४३० हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ । रहु, बिग हेड, भकुरा, सिल्वरकार्प, इजरायललगायत जातका माछाहरूको माग र खपत अनुसार उत्पादन भइरहेको छ । केही वर्षअघिसम्म जिल्लाका शौकीनहरूले मात्र पोखरी खनेर माछापालन गर्थे । अहिले यो व्यवसायको रूपमा फस्टाएको छ । अहिले अन्य कृषि कार्यभन्दा माछापालनमा मनग्य आम्दानी भइरहेकोले किसानहरूको पहिलो रोजाइ माछापालन भएको छ । थोरै लगानीमा बढी आम्दानी हुने भएपछि बर्सेनि माछापालन व्यवसायले गति लिएको छ । पर्सा जिल्लामा छिपहरमाई, पकाहामैनपुर, सखुवाप्रसौनी, पर्सागढी आदि पालिकाहरूमा सबैभन्दा बढी माछापालन हुने गथ्र्यो । अहिले भने सबैजसो पालिकामा माछापालन हुँदै आएको छ । माछापालन गर्ने किसानलाई सरकारी अनुदान पनि छ । स्थानीय सरकार गठन भएपछि अनुदान सहयोगमा किसानहरूको पहुँच बढेको छ । यो जिल्लाको गण्डक नहरदेखि उत्तरतर्पm थारुवान क्षेत्रमा सिंचाइको पर्याप्त व्यवस्था छ, त्यहाँ धान, गहुँ, मकै, सुर्ती, दलहन, तेलहन खेतीका लागि मल र बीउबिजनबाहेकको समस्या छैन । यस क्षेत्रमा तीन बाली हुने हुँदा माछापालनतर्पm किसानहरूको आकर्षण बढ्न सकेको छैन । तर आकाशे सिंचाइको आसमा धान, गहुँ, दलहन, तेलहन बालीको खेती गर्दै आएका गण्डक नहरदेखि दक्षिण बझियानका किसानहरू भने परम्परागत खेतीबाट विस्थापित हुँदै माछापालनतर्पm आकर्षित भएका हुन् । अनुदान सहयोगमा पोखरी खनेर वार्षिक चारपटकसम्म माछा उत्पादन गरेर बजारमा बिक्री गरी नगद कमाउने सरल र सहज उपायको रूपमा किसानहरूले माछापालनलाई लिएका छन् ।
माछापालन व्यवसाय फस्टाएसँगै ह्याचरीहरू पनि एकपछि अर्काे खुल्दैछन् । यसले गर्दा हालका दिनमा माछाका भुराका लागि पनि किसानहरूलाई अन्य जिल्ला धाउनुपरेको छैन । पर्सामा एकपछि अर्काे गरी हाल १० वटा ह्याचरी सञ्चालनमा छन् । माछासँगै माछाका भुरामा पनि पर्सा आत्मनिर्भर बनिसकेको छ । सरकारले किसानमैत्री योजना ल्याउने घोषणा गर्दै आएको छ । किसानहरूलाई दिने अनुदान सहयोग सही मानेमा उपयोग भएको क्षेत्र बनेको छ– माछापालन व्यवसाय । अन्य कृषि खेतीमा दिइने अनुदान सहयोगको दुरुपयोग बढ्दै गएकाले ती खेतीले विकास गर्न नसकेको हो । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।