• सञ्जय साह मित्र

विज्ञानले मान्ने कुरा हो – पदार्थमा चेतना हुँदैन । पदार्थ त जड हो । पदार्थमा चेतना नहुनुको अर्थ पदार्थ जति सबै निर्जीव हुन्छ । पदार्थमा जीवन हुँदैन । यस किसिमको विचारलाई भौतिकवाद भनिन्छ । भौतिकवादले अध्यात्मलाई मान्दैन । भौतिकवाद र अध्यात्मलाई कतिपयले विपरीत विचार मान्दछन् तर आजभोलि आध्यात्मिक भौतिकवाद र भौतिक अध्यात्मवादको खूब चर्चा हुन्छ । यद्यपि यहाँ अध्यात्मको दृष्टिकोणले होइन, समाज र समाज मनोविज्ञानको दृष्टिले पदार्थमा पनि चेतना हुन्छ र पदार्थको चैतन्यीकरण समाज मनोविज्ञानले गरेको छ वा यस किसिमको परम्परा समाजमा निकै पहिलेदेखि रहेको छ भन्ने तथ्य वा तर्कतर्फ केन्द्रित हुन खोजिएको छ ।

यदि समाजलाई हेर्ने हो भने धरतीलाई माता मान्ने गरिएको छ । जमीनलाई पनि ढोग्दछन् । यसैगरी अझै पनि पुराना मानिसहरू कागजलाई सरस्वतीको प्रतीक मान्दछन् । कुनै पनि हालतमा अझै पनि कागजलाई कुल्चन चाहँदैनन् । असावधानीले कतै कागज कुल्चियो भने तीनचोटि माफी माग्छन्, क्षमायाचना गर्छन् । यसैको विकसित रूप फोटोको पूजा हो । पछिल्लो समयमा धेरै घरमा लगाइने टायल्समा पनि विभिन्न आकृतिहरू छापिन थालेपछि विभिन्न देवदेवीका प्रतीक वा फोटो पनि छापिन्छन् । अनि यही टायल्सको फोटो पनि पूजा गर्न शुरू भएको छ । अर्थात्, आस्थालाई चेतनासित जोड्ने अनेक साधन विकास भइरहेका छन् । पदार्थसित चेतना र चेतनाको पदार्थीकरणको अभ्यास समाजमा निकै लामो समयदेखि चलिआएको यथार्थ हो ।

समाजमा यस्ता अनेक कथा वा लोककथाहरू छन् जसमा दुई पदार्थ कुराकानी गर्दछन् । उदाहरणको लागि एउटा दियो र अर्को दियोले कुराकानी गरेको कुरा । यस्तै हातका पाँच औंलाले एकापसमा कुराकानी गर्दछन् । कुन औंला किन छेउमा भयो भन्ने कथामा औंलाकै कुराकानी छ । हरेक औंलाले आप्mनो कथा सुनाउँछ । एकछिनको लागि औंला त सजीव भयो भन्न सकिन्छ तर औंलाले कुराकानी गर्न सक्दैन । यसैगरी विभिन्न तरकारी तथा तथा खाँबोले कुरो गरेको बताइन्छ । समाजमा यस्ता धेरै दृष्टान्त छन्, जसमा खेतले बोलेको, बालीले भनेको, वनस्पतिले अह्राएको प्रसङ्ग आउँछ । जमीनले बाटो देखाएको, जमीनले नै सम्पत्ति बताएको जस्ता कुरा त कति सुनिन्छ, कति ?

नदीले सपनामा आएर सुनाएको, आप्mो कथा भनेको, नदीसित प्रेम गरेको जस्ता जीवन्त कथाहरू समाजमा व्याप्त छन् । नदीलाई स्त्रीलिङ्ग मान्ने गरिए पनि रौतहटको बकैयालाई पुलिङ्ग मान्ने चलन छ । मकवानपुरको बकैया गाउँपालिकाको अनकन्टार पहाडी क्षेत्रमा जन्मेको बकैया नदीको उद्गमस्थल वरपर बकैया ठाकुरको मन्दिर छ । बाराको निजगढ नगरपालिकामा एउटा बकैया ठाकुर प्राथमिक विद्यालय छ । रौतहटको मौलापुर नगरपालिकाको सोनरनिया गाउँमा बकैया ठाकुर भनेर चिनिने बकैया नदीले कुनै एक जमानामा एउटी केटीसित विवाह गरेको कथा विद्यमान छ । यही नदीलाई गङ्गाको स्वरूपमा माता र नितान्त बकैयाको सन्दर्भमा पुरुष मान्ने अनौठो लोकविश्वास वा लोकमनोविज्ञान रहेको छ ।

नदीलाई चेतनासित जोडेको अनेक किंबदन्ती प्रचलनमा रहेको छ । भनिन्छ, रौतहटको दुर्गा भगवती गाउँपालिकाको पिपरा बजारका एकजना पुराना साहुको घरलाई बागमती नदीले जसरी पनि भत्काउने प्रण गरेको थियो । बागमती नदीलाई मनाउन अनेक भाकल गर्दा पनि मानेन रे । एक वर्ष यस्तो बाढी आयो कि त्यस घरलाई छोएर, घरको एउटा कुनो अलिकति भत्काएर गयो रे । त्यसभन्दा यता फेरि त्यस ठाउँमा बागमती नदीको पानी पुगेको छैन रे । त्यो घरको अवशेष छ, त्यस घरमा इनार पनि छ । अनि अन्य अनेक कथाहरू जताततै छरिएर रहेका छन् बागमती नदीको । बागमती नदी मानौं सजीव हो र मानिससँग यसको सम्बन्ध छ । नदी त सजीव होइन तर गाउँघरका मानिसबीच जसको नाता बकैया, बागमतीजस्ता नदीहरूसित छ, तिनले कुनै पनि मूल्यमा निर्जीव मान्दैनन् । बरु नदीलाई कतै देवता, कतै देवी वा कतै कुलदेवता मान्ने वा मानेको देखिन्छ । अनि नदीलाई कहाँ त्यत्तिकै निर्जीव मान्ने चलन छ गाउँमा अझै पनि ।

कसैले ढुङ्गालाई कुनै पीपलको रूखमुनि लगेर राखिदेओस् त, त्यस ढुङ्गाले मानिसलाई आशीर्वाद दिन थालिहाल्छ । ढुङ्गामाथि पनि मानिसको विश्वास अगाध छ । ढुङ्गाप्रति अनन्त आस्था छ । ढुङ्गाले पनि मानिसलाई सुरक्षा दिएको अनुभूति गराउँछ । हो, अनि ढुङ्गामा आस्था पसेपछि स्वाभाविक वा मानिसले सजीवजस्तो व्यवहार गर्न थाल्छ । यो स्वाभाविक र सजीवताको अनुभूतिले मानिससित गाँस्न पुग्ने नातामा पनि पदार्थको चैतन्यीकरण गरिएको हुन सक्छ । पदार्थको चैतन्यीकरण त्यति बेला उत्कर्षमा पुग्छ जति बेला कुनै मूर्तिकारले मूर्ति तयार पार्दछ र आफैंले बनाएको मूर्तिलाई ढोग्दै आशीर्वाद माग्दछ । अहिले विश्वमा निकै चर्चामा रहेको अयोध्यास्थित श्रीराम मन्दिरको जुन मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ, त्यस मूर्तिका मूर्तिकारको आस्था पनि समाहित भएको थियो । ती मूर्तिकारले पनि मूर्तिमा साक्षात् भगवान रामको दर्शन पाएको बताउँदा पदार्थको चैतन्यीकरण प्रस्टिन्छ ।

कतिपय अवस्थामा चेतनाको पनि पदार्थीकरण हुन्छ । आस्थाले बनाएको मूर्ति र मूर्तिले बनाएको आस्था करीब समानजस्तै लागे पनि त्यस्तो भने होइन । कतिपयले आरोप लगाउने गरेका छन् कि समाजको यस्तो मनोविज्ञान जानीजानी बनाइएको हो जसले आस्थालाई निरन्तरता देओस् । चेतनाको वैज्ञानिकीकरण गर्दागर्दै आत्मीकरण पनि गर्दछन् । चेतनाको आत्मकीकरण र पदार्थको आत्मीकरणमा खासै फरक देखिन्न । हरेक जीवमा ईश्वर देख्नु, वनस्पतिमा पनि जीवन देख्नु अनि ढुङ्गाप्रति आस्था देखाउनु तथा ढुङ्गाको मानवीकरण गरेर चेतना प्रदान गरेपछि सबैले सचेत देख्नु फरक कुरा हो ? आस्थामाथि कसैले खेलवाड गर्नु कुनै पनि मानेमा न्यायोचित हुँदैन किनभने कतिपयले आपूmलाई कम मूल्यवान र आप्mनो चेतना वा आस्थाको मूल्यलाई निकै मूल्यवान मान्ने गर्दछन् । यस मानेमा कतिपयलाई लाग्ला कि मानिसको मूल्य बढी हो तर यसरी विचार अभिव्यक्त गर्नेहरूले कुनै माग्नेलाई मानिस नगनेको पनि हुन सक्छ । हो, आपूmलाई कम मूल्यवान मान्नेले जड वस्तुमा पनि चेतना देखेर त्यही चेतनालाई आपूmभन्दा मूल्यवान मान्न सक्नुलाई अन्यथा लिनु हुँदैन ।

चेतना प्रदान गर्ने क्रममा साहित्यमा जुन कुनै वस्तुको मानवीकरण गर्ने चलन छ । मानवीकरण भनेको काव्यमा कुनै पदार्थलाई चेतना दिनु हो । पाश्चात्य साहित्यमा पनि यो प्रचलन छ । नदीले बोलेको, पूmलले कुरा गरेको, चराचुरूङ्गी तथा विभिन्न जन्तु–जनावरको कथामा मानवीय मनोविज्ञान छ्यापछ्याप्ती पाइन्छ । कतिपय यस्ता रचनामा मानिसको प्रवृत्ति देखाउन खोजिएको हुन्छ ।

राजा शिविले परेवालाई बचाउन बाजलाई आप्mनै मासु काटेर दिएको, रामले बाँदरहरूको सहयोग लिएको तथा विभिन्न देवीदेवताका वाहन तथा सहयोगी पशुपक्ष्Fी हुने गरेको सन्दर्भ पाइन्छ । सबैले कुरा गर्ने गरेको तथा सबैको संवादमा निकै उदारता देखिने गरेको पाइन्छ । यी र यस्ता दृष्टान्तले समाजकै मनोविज्ञान देखाउने गरेको होइन र ?

कतै सडक भत्केको देखेर मनमा दुःख हुनु पदार्थको चैतन्यीकरण हो ? कतै असाध्यै राम्रो प्राकृतिक दृश्य हेरेर खुशी लाग्नु पनि पदार्थको चैतन्यकरण हो ? यस्ता प्रश्नहरू अनुत्तरित अवश्य छन् तर पदार्थमा चेतना देख्ने प्रचलन समाजमा सामूहिक मनोविज्ञानको रूपमा रहेको छ । पुरातन समयदेखि रहिआएको छ र अझै पनि यसको विस्तार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here