काठमाडौं, २३ फागुन/रासस
पत्रकारिता क्षेत्रका अग्रजले सञ्चारगृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागद्वारा बुधवार आयोजित पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत, मर्यादित बनाउन सम्बन्धित पक्ष तत्पर रहनुपर्ने बताए ।
नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष बाला अधिकारीले मुलुकको सर्वोत्तम हितका लागि पत्रकारिता क्षेत्रलाई प्रतिष्ठित, मर्यादित बनाउन महासङ्घ संवेदनशील रहेको उल्लेख गरिन् । “पत्रकारिता पेशामा लामो समयसम्म सक्रिय महिलाको सङ्ख्या न्यून छ । पारिवारिक जिम्मेवारीसँगै यस क्षेत्रमा पारिश्रमिकलगायतका सेवासुविधामा भएको विभेदबारे महासङ्घ संवेदनशील छ,” उनले भनिन् ।
पत्रकारिता क्षेत्रमा आबद्ध महिला हिंसाका घटना न्यूनीकरणमा पुरुषहरूको भूमिका पनि उत्तिकै रहने उल्लेख गर्दै उनले प्रतिस्पर्धामा महिलाले आफ्नो क्षमता, सक्षमतालाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरूले हासिल गरेका उपलब्धिलाई समीक्षा गर्न जरुरी भएको बताइन् । उनले महिलाका हकअधिकारका सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनको अवस्था कमजोर रहेको उल्लेख गरिन् ।
प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले महिला पत्रकारलाई पुरुषसरह समान पारिश्रमिक नभएको भन्दै पेशागत सुरक्षा सुनिश्चित हुनुपर्ने धारणा राखे । प्रेस युनियनका सल्लाहकार अनीता बिन्दुले पत्रकारितामा महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताइन् । आफ्नो जिम्मेवारीअनुरूप क्षमता अभिवृद्धि गर्न महिला स्वयम् तत्पर रहनुपर्ने उनले उल्लेख गरिन् ।
नेपाल ट्रेड युनियन, काङ्ग्रेसकी महिला उपाध्यक्ष राधिका कुइँकेलले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितामा महिलाले लैङ्गिक हिंसाका सम्बन्धमा चलाएका कलमको समीक्षा गर्न आवश्यक रहेको बताइन् । प्रेस युनियन, काठमाडौंका अध्यक्ष महेश गौतमले पारिश्रमको उचित मूल्याङ्कन गरी महिला लक्षित सेवासुविधा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीले महिलाको पारिवारिक जिम्मेवारीलाई बेवास्ता गर्न नमिल्ने, स्थापित सञ्चारगृहले व्यवस्थित गर्न नसक्दा सञ्चारकर्मी टिक्न नसकेको, पत्रकारिता शैक्षिक संस्थाका जनशक्तिलाई सदुपयोग गर्न दिगो रणनीतिक योजना तयार पार्नुपर्ने, महिलाको विज्ञता स्वीकार गर्नुपर्ने, महिला पत्रकारको सहजताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, महिलाका मुद्दा समाधानमा ऐक्यबद्धता जनाउनुपर्ने, हरेक समाचार कक्षमा न्यूनतम पारिश्रमिक नेतृत्वको निगरानी हुनुपर्ने, जिम्मेवारी वहनमा इच्छाशक्ति प्रकट गर्न दृढ हुनुपर्ने, महिलामैत्री समाचार कक्ष हुनुपर्ने लगायतका विषय उठान गरेका थिए ।