प्रस, ठोरी, २२ फागुन/
११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठोरी गाउँपालिकाले मङ्गलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रममा महिलाको आर्थिक, सामाजिक सशक्तीकरण सम्बन्धमा अन्तक्र्रिया भएको थियो ।

कार्यक्रमका मुख्य अतिथि ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले आर्थिक कारोबारमा पुरुषभन्दा महिलाप्रति समाजको विश्वास रहेको भन्दै सशक्तीकरणका लागि महिलाहरू आत्मविश्वासका साथ आफैं अग्रसर हुनुपर्नेमा जोड दिए । उनले महिला लक्षित कार्यक्रम महिलाहरूले नै प्राथमिकताक्रम निर्धारण गरेमा पालिकाको क्षमता अनुसार कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

पालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीको अध्यक्षतामा भएको अन्तक्र्रियामा सञ्चारकर्मीद्वय तुलसी भण्डारी र प्रताप श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष अमृतकृष्ण सापकोटा, कार्यपालिका सदस्य फूलमाया दर्जी, न्यायिक समितिका मेलमिलापकर्ता नीलु बस्नेत, कर्मचारीको तर्फबाट लक्ष्मी कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति, पर्साका सदस्य सुशीला विक र गाउँपालिकाका कार्यकारी अधिकृत कृष्णलाल श्रेष्ठ विशिष्ट अतिथि रहनुका साथै पालिकास्थित राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पूर्व महिला जनप्रतिनिधि, महिला तथा बालबालिका क्षेत्रमा पालिकास्तरमा क्रियाशील सरकारी एवं सामाजिक संस्थाका प्रतिनिधि, स्वयंसेविका, विद्यालयका शिक्षकलगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सामाजिक विकास अधिकृत धर्मराज थापा र वित्तीय साक्षरता प्रतिनिधि हेम चापागाईंले गरेका थिए । कार्यक्रम पालिकाको सभाकक्षमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here