राधेश्याम पटेल, परवानीपुर, २२ फागुन/
भारतीय टिभी च्यानल आजतकका रक्सौल संवाददाता गणेशशङ्कर मस्कराको परिवारमाथि दुःखको बज्रपात खसेको छ ।
सोमवार बिहान सवारी दुर्घटनामा उनका बुबा ८० वर्षीय श्रवण मस्करा, ७५ वर्षीया आमा प्रेमा मस्करा र ३२ वर्षीया पत्नी अञ्जु मस्कराको दुर्घटनास्थलमैं मृत्यु भएको छ भने ३८ वर्षीय पत्रकार गम्भीर घाइते भएका छन् ।
करीब एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय मस्कराको उपचार मोतिहारीको आरएस हस्पिटलको आइसियूमा उपचार भइरहेको छ । परिवारका तीनजना सदस्यको मृत्युपश्चात् शल्यपरीक्षण गरी पहलेजा घाट पटनामा अन्त्येष्टि गरिएको जनाइएको छ ।
भाडाको इनोभा कारमा सवार चारैजना चेन्नईको लागि रेल चढ्न मुजफ्फरपुर गइरहेका बेला बिहान साढे ४ बजे मोतिहारी–मुजफ्फपुर बाइपास सडकखण्डको मुफसिल थाना क्षेत्रमा पुलको रेलिङमा कार अनियन्त्रित भई ठक्कर खाएको थियो । कार चालक फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।
चालक र पत्रकार मस्करा अगाडि बसेका थिए भने बुबा, आमा र पत्नी पछाडिको सिटमा बसेका थिए । कार प्रहरीको नियन्त्रणमा छ । चेन्नईमा पत्रकार मस्कराका जेठा दाइ विजय बस्ने हुँदा बुबाआमाको उपचारको लागि चेन्नई जाने कार्यक्रम थियो । रक्सौल–११ स्थित घरबाट मस्करा परिवार बिहान २ बजे कारमा सवार भई मुजफ्फरपुर निस्केको थियो ।