प्रस, पोखरिया, २१ फागुन/
बजेट अभावमा पोखरिया नगरपालिका–१ देखि ६ को बहीखोलासम्म साढे पाँच किलोमिटर कालोपत्रे सडक निर्माण कार्य अलपत्र अवस्थामा छ ।
२०७८ सालमा एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम अन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा सडक डिभिजन कार्यालय, हेटौंडाले यो सडकखण्ड कालोपत्र गर्न ठेक्का लगाएको थियो ।
२१ करोड रुपैयाँ लागत रहेकोमा गलवा/अङ्कित जेभी कन्स्ट्रक्शनले साढे १९ करोड रुपैयाँमा सकार गरी काम शुरू गरेको थियो । करीब रु डेढ करोड अग्रीम भुक्तानी पाएर काम शुरू गरेको ठेकेदारले प्रधानमन्त्री ओलीको सरकार ढलेसँगै अर्को सरकारले यो योजनामा बजेट विनियोजन नगर्दा काम रोकिएको थियो । आगामी २०८१ पुस मसान्तसम्म यो योजना पूरा भइसक्नुपर्नेमा अहिले १० प्रतिशत काम पनि भएको छैन । ठेकेदार कम्पनीका प्रतिनिधि सुरेश पटेलले योजनाको लागि बजेट नआएकोले काम अगाडि नबढेको बताए ।
सडक डिभिजन कार्यालय, हेटौंडाका डिभिजनल इन्जिनीयर राजेश यादवले तत्कालीन प्रधानमन्त्री ओलीको समयमा विनियोजित बजेट अनुसार ठेक्का भएको र त्यसपछि बजेट नआउँदा काम प्रभावित भएको बताए । उनले आज भएको राजनीतिक परिवर्तनबाट एमाले सरकारमा आउने र यो योजनामा बजेट विनियोजन भई काम अगाडि बढ्ने बताए ।