प्रस, वीरगंज, २१ फागुन/
वीरगंजको मेनरोड फराकिलो पार्ने सम्बन्धमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश जारी गरेको छ ।

पटकपटक पेसी सर्दै आएको वीरगंजको मेनरोड फराकिलो पार्ने मुद्दामा आज सर्वोच्चको १० नं इजलासले मन्त्रिपरिषद्को निर्णय झिकाउने निर्णय गरेको हो ।

विपक्षी कानून व्यवसायीले आज इजलासमा तत्कालीन मन्त्रिपरिषद्ले रक्सौल–पथलैयासँगै श्रीसिया सुक्खा बन्दरगाह–पथलैया सडकखण्डलाई त्रिभुवन राजपथ घोषित गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि पेश गरेका थिए । सोही प्रमाणको आधारमा आज न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरेको बताइएको छ ।

तत्कालीन मन्त्री विमलेन्द्र निधिले श्रीसिया सुक्खा बन्दरगाह–पथलैया सडकखण्डलाई त्रिभुवन राजपथ घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकामा स्वीकृति भएको बताइन्छ ।

सर्वाेच्चले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरे पनि आज ढिला भएको कारण अघिल्लो तारिख दिएको छैन र सम्भवतः भोलि अघिल्लो तारिख तोकिनेछ । वीरगंजको मेनरोड फराकिलो पार्ने विषयको मुद्दा सर्वाेच्चमा २०७५ सालदेखि चल्दै आएको छ र अहिलेसम्म तारिखमा अल्झिएर बसेको छ । पटकपटक मुद्दा पेशी सूचीमा पर्ने तर हेर्न नभ्याउने भनी तारिख मात्र पाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here