राधेश्याम पटेल, परवानीपुर, २१ फागुन/
मङ्गलवार बिहान ११ः३० बजे त्रिविवि खेलमैदानमा त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको फाइनल खेल हुने समयतालिका छ ।
नेपालमा क्रिकेट निकै लोकप्रिय खेल बन्दै गएको छ । यसै खेलमा चम्किएका छन्, पर्साका चन्दन राम । धोबिनी गाउँपालिका–२ आसवारी घर भई वीरगंज–१३ राधेमाईटोलमा बस्दै आएका रामले प्रधानमन्त्री कप अन्तर्गत आफ्नो डेब्यू खेलमैं पाँच विकेट लिएर चर्चामा आएका थिए ।
एपिएफबाट सो खेल खेलेका राम पोखरामा सम्पन्न मनमोहन मेमोरियल क्रिकेट प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ बनेर झन् चर्चा बटुले । १६ वर्षीय राम जति लोकप्रिय बन्दै गएका छन्, उनको पारिवारिक पृष्ठभूमि र सङ्घर्षको पाटो पनि उत्तिकै घतलाग्दो छ । तराई–मधेसमा दलित समुदाय राज्य र समाजबाट पछाडि पारिएका वर्गमा पर्छ । दलित समुदायका भएपनि रामका बुबा प्रहरी हवलदार हुन् र बुबाकै अभिभावकत्वमा उनी नेपाली क्रिकेटमा चम्किएका छन् ।
हामी दलित परिवारबाट भएपनि बुबाले मेरो पढाइ र खेलाइ दुवैको वातावरण मिलाउनुभयो, जसले गर्दा आज क्रिकेटमा राम्रो खेल खेल्ने अवसर पाएको छु, उनले भने । राधेमाईटोलमा कोठा भाडामा लिएर बस्दै आएका राम बिहान ४ बजे उठेर आफ्नो दैनिकी शुरू गर्छन् । बिहान ५ देखि ९ बजेसम्म कोचिङ, १० देखि ४ बजेसम्म विद्यालय र त्यसपछि फेरि क्रिकेटको प्रशिक्षण र राति गृहकार्य गरेर सुत्ने गरेको उनी बताउँछन् ।
२०७६/७७ सालको कोरोना महामारीको बेला गाउँमा क्रिकेट खेल्न जाँदा साथीहरूले उनलाई खुलेर क्रिकेट खेल्न हौंस्याएका थिए । त्यसपछि उनी आफू अध्ययनरत साउथजोन माविको प्रतिनिधित्व गर्दै विद्यालय एवं स्थानीय स्तरमा क्रिकेट खेल्दै गए । केही महीनाअगाडि वीरगंजको ज्ञानदा स्कूलद्वारा सञ्चालित नेशनल स्पोट्र्स एकेडेमीमा प्रशिक्षक जहुर अन्सारी र एकेडेमीका ब्रान्ड एम्बेस्डर आशिफ शेख र आरिफ शेखको प्रेरणामा क्रिकेटलाई निखारिरहेका छन् ।
१२० देखि १२५ किलोमिटर प्रतिघण्टाको वेगमा बलिङ गर्ने रामको मुख्य हतियार इन स्वीन र आउट स्वीन बलिङ हो । त्यसमाथि उनले फुर्तिलो फिल्डिङ र राम्रो ब्याटिङ गर्दा यू–१६ मा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै हालै पोखरामा सम्पन्न मनमोहन मेमोरियल कपमा मधेस प्रदेशलाई उपाधि दिलाएर ‘म्यान अफ दी सिरिज’ पनि बने । शृङ्खलाभरि पाँच खेलमा १० विकेट लिएका रामले १०४ रन बनाएका थिए । राज्यले क्रिकेट खेलमा राम्रो सेवासुविधासँगै उचित प्रशिक्ष्Fणको व्यवस्था मिलाउनुपर्ने उनको सुझाव छ ।
उनले खेलको माध्यमले देशको नाम चिनाउन ठूलाबडाको घरमा जन्मिन जरुरी नभएको र गरीब भएर पनि राम्रो खेल्ने जोकोहीले एक दिन अवसर पाउने भएकोले हरेक खेलमा विद्यार्थी बेलादेखि सहभागिता जनाउनुपर्नेमा जोड दिए । रामले आमा गृहिणी भएको र चारवटा बहिनी रहेको बताए ।