काठमाडौं, १ फागुन/रासस
एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रूबिना क्षत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित ११८ रन बनाइन् ।
मलेशियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर २२७ रन बनायो । २२८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रनमा समेटियो । नेपालका लागि रूबिनाले ५४ बलमा शतक प्रहार गरिन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छन् ।
यस अघि नेपालबाट अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सीता रानामगरले सर्वाधिक ८२ रन बनाइएकी थिइन् । आजको खेलमा रूबिनाले ५९ बलमा १० चौका र पाँच छक्का हानिन् । त्यसैगरी नेपालका लागि पूजा महतोले ५९ रनको योगदान दिइन् । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । यस्तै सीता रानामगरले १५ तथा कविता कुँवरले १३ रन बनाइन् । बलिङतर्पm माल्दिभ्सकी शम्मा अलीले तीन तथा नब्बा नासिमले एक विकेट लिए ।
माल्दिभ्सलाई मात्र १३ रनमै समेट्ने क्रममा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक चार विकेट लिइन् । यस्तै पूजा महतो र रूबिना क्षत्रीले तीन–तीन विकेट लिए । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सुमाया विन्थ अब्दुल हमिदले पाँच तथा नब्बा नासिम र हफसा अब्दुल्लाले दुर्ई दुर्ई रन बनाए ।
लगातार तीन खेल जित्दै प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपाल क्वाटरफाइनमा प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा हड्ढङ र दोस्रो खेलमा भूटानलाई आठ–आठ विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स पहिलो खेलमा भूटान र दोस्रो खेलमा हड्ढङसँग पराजित भएको थियो ।