नितेश कर्ण, वीरगंज, २८ माघ/
सर्लाही जिल्लामा मानव अधिकार रक्षक सञ्जालले बसाएको सर्वदलीय बैठकले सरस्वतीपूजाका दिन विद्यार्थी, शिक्षकहरूलाई अनिवार्यरूपमा पोशाक लगाउन र सो दिन अश्लील गीत नबजाउन सर्वसम्मतले निर्णय गरेको छ ।
सञ्जालका अध्यक्ष मुकेश मिश्रको अध्यक्षतामा आइतवार बसेको बैठकमा पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाजलगायतको सहभागिता थियो । सरस्वतीपूजा मनाउने क्रममा गैरविद्यार्थीहरूका कारण विकृति बढिरहेको बैठकले ठहर गर्दै यसलाई नियन्त्रण गर्न सबै विद्यालयमा विद्यार्थी र शिक्षकहरूले पोशाक लगाउनुपर्ने निर्णय गरेको हो । यसबाट परम्परागत विकृति केही नियन्त्रण हुने बैठकको ठहर छ ।
यसैगरी, पूजाको दिन शैक्षिक संस्थाहरूमा नकारात्मक प्रभाव पार्ने अश्लील गीतसङ्गीत नबजाउन पनि अनुरोध गरेको छ । यी दुई चीजको अनुगमनका लागि मिश्रको संयोजकत्वमा ११ सदस्यीय अनुगमन टोली निर्माण गरिएको छ ।
यसैगरी, बैठकले सरस्वतीपूजाका सबै गतिविधि साँझ ५ बजेसम्म सम्पन्न गर्ने र सभ्य, सुन्दर गीतसङ्गीत बजाएर मूर्ति विसर्जन गर्ने निर्णय गरेको छ । सर्लाहीमा गत वर्ष सरस्वतीपूजा मूर्ति विसर्जनको विषयलाई लिएर ठूलो बबाल सिर्जना भएको थियो र कफ्र्यू पनि लगाइएको थियो । सोहीलाई मध्यनजर गरेर यसपटक यो निर्णय गरिएको हो ।