पर्सा जिल्लामा गाँजाखेतीको विकल्पका रूपमा अहिले सुर्तीखेती फस्टाएको छ । कुनै बखत गाँजा र उखुले यो जिल्लामा लामो समयसम्म डेरा जमाएको थियो । वीरगंज चिनी कारखाना लिमिटेड बन्द भएको दुई दशक हुन थाल्यो भने करीब डेढ दशकदेखि पर्सा जिल्लामा गाँजाखेती हराए बराबर छ । प्रायः सबैजसो पालिकामा हुने गाँजाखेती प्रतिबन्ध रहेको र प्रहरी प्रशासनबाट निरन्तर दखल हुन थालेपछि यहाँका किसानहरू सुर्तीखेतीतर्फ आकर्षित भएका हुन् । अहिले सुर्तीखेती गरेका किसानहरूले राम्रो आम्दानी गरिरहेका छन् । सूर्य नेपाल प्रालि, सिमराले उनीहरूलाई सूर्तीखेतीका लागि सहयोग गर्दै आएको छ । खेतीपातीका लागि ऋण दिने, बाली उत्पादन बढाउन प्राविधिक सहयोग गर्ने, उच्चकोटिको बीउबिजन र मल आदिको व्यवस्था गर्ने जस्ता कार्यले अहिले सुर्तीखेती पर्सा जिल्लामा बढिरहेको हो । सूर्य नेपालले पर्सादेखि पूर्वमा सिराहासम्म र पश्चिममा नवलपरासीसम्म सुर्तीखेती गराउँदै आएको छ । सूर्य नेपालले अहिले यी क्षेत्रमध्ये सबैभन्दा बढी पर्सा जिल्लाबाट उत्पादित सुर्ती सङ्कलन गर्दै आएको छ । बर्ली र एचडी दुई जातका सुर्तीखेती पर्सामा हुने गरेका छन् । गत वर्षको तथ्याङ्कले एक हजार हेक्टर जमीनमा सुर्तीखेती भएको थियो । यसपालि गत वर्षको तुलनामा सुर्तीखेती बढ्ने सम्भावना छ ।

उत्पादन बढेसँगै त्यसको प्रतिफल किसानले नै पाउने हुन् । किसानहरूले यस वर्षको उत्पादन बढ्नुको कारण सुर्तीका लागि आवश्यक चीसो बढेको बताउँछन् । गत वर्षको तुलनामा हुस्सु र पश्चिमी हावा बढी भएर चीसो बढेको र यसले सुर्ती उत्पादन बढ्ने उनीहरूको भनाइ छ । पर्सा जिल्लामा सुर्तीखेती वर्षमा दुईपटक हुँदै आएको छ । एक वर्षमा कात्तिक र चैत महीनामा सुर्तीखेती गरिन्छ । तीन/तीन महीनामा यसको खेती गरिन्छ र लगानीको प्रतिफल नगद आउने हुँदा पर्सा जिल्लाको थरुहट क्षेत्रमा सुर्तीखेतीप्रतिको आकर्षण बढ्दो छ । नगदेबालीका साथै सुर्तीखेतीलाई जङ्गली जनावरहरूले पनि हानिनोक्सानी नगर्दा यो खेतीप्रतिको आकर्षण बढेको किसानहरूको भनाइ छ । पर्सा राष्ट्रिय निकञ्ज र राष्ट्रिय वन क्षेत्रबाट निस्कने जङ्गली जनावरहरूले सुर्ती खेतीलाई क्षति पार्दैनन् । सुर्ती खेतीलाई बाँदरले मात्र क्षति पु-याउने गर्छ । यो खेती गर्ने किसानहरूको भनाइ अनुसार प्रतिकट्ठा खर्च काटेर रु बीस हजार आम्दानी हुन्छ । गण्डकदेखि पश्चिम, उत्तरतर्फको थरुहट क्षेत्र ठोरी, जगरनाथपुर, जीराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली गापा र पर्सागढी नपा तथा वीरगंज महानगरका केही वडाहरूमा सुर्तीखेती गरिन्छ । नहरदेखि दक्षिणतर्फ बझियानमा सुर्तीखेती गरिन्न, यसको ताŒिवक कारण भने थाहा भएन ।

सुर्तीखेती गर्नेहरू विभिन्न रोगबाट ग्रसित हुने गरेका भनेर एकताका स्थानीय जनप्रतिनिधिहरूले बबाल गरेका थिए । तर पछि यस कुराको चिकित्सकीय आधार प्रमाण नभेटिएपछि जनप्रतिनिधिहरूको निहित स्वार्थ रहेछ भन्ने कुरा बाहिरियो र किसानहरू सचेत भए । सूर्य नेपालले उनीहरूलाई लक्षित गरेर स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सो क्षेत्रका बालबालिकाहरूको शिक्षामा पनि पहुँच बढाउँदै आएको पाइएको छ । सुर्तीखेती गरिएका पालिकाहरूमध्ये अहिलेसम्म ठोरी, जीराभवानी, पटेर्वासुगौली र सखुवाप्रसौनीमा टिचफर नेपाल कार्यक्रम अन्तर्गत १५ जना शिक्षक, शिक्षिकाहरूको व्यवस्थापन गरेको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here