राधेश्याम पटेल, परवानीपुर, २७ माघ/
युवा पुस्ता रोजगार खोज्दै विदेश पलायन भइराखेको अवस्थामा रौतहटका किसान श्रीभगवान यादवले गाउँमैं सुन फलाउने योजना बुनेका छन् । आफ्नै खेतमा खाडी मुलुकसरह परिश्रम गरी उनले कृषिकर्म शुरू गरेका छन् ।

फतुवाविजयपुर नगरपालिका–८ बस्ने ४० वर्षीय यादव पेशाले हार्डवेयर एवं एग्रोभेट व्यवसायी हुन् । उनको वीरगंजको पुरानो अमर (बुखार) चोकमा एग्रोभेट र रौतहटको विजयपुर बजारमा हार्डवेयरको पसल छ । तर अहिले उनको गाउँभरि चर्चा छ, उनले अनौठो खेती गरेर सबैलाई चकित बनाएका छन् । आफ्नो पुस्तैनी १० बिघा र टेग्राहा माविको २१ बिघा जग्गा लिजमा लिएर उनले ३१ बिघामा विभिन्न बाली लगाएका छन् ।

उनले ३१ बिघामा खेती गर्न करीब १५ लाख खर्चेको बताए । उनले यस वर्ष बाली सप्रेमा आगामी वर्ष दोब्बर जग्गामा खेती गर्ने योजना रहेको बताए । उनले खेती किसानीबाट खर्चको ५० प्रतिशत नाफा हुने र गाउँका मानिसहरूले रोजगार पाउने हुँदा आफू खेतीतर्फ आकर्षित भएको बताए । उनले व्यावसायिकरूपमा खेती गरेर देखाउने बताए ।

उनले नेपाल र भारतमा उत्कृष्ट देखिएका बालीहरू लगाउने बताए । यसका लागि अहिले नमूनाको रूपमा भारतको सिमलामा गरिने नीलकण्ठ आलु (जामुनको रङ्ग जस्तै देखिने आलु) खेती गरेको बताए । यसैगरी, सोही खेतको तीन धुरमा पराम्परागत सेतो आलु पनि लगाएको बताए । सेतो आलुको जामुनसँग क्रस गराएर एक दशकदेखि उक्त आलु भारतका केही राज्यमा खेती गरिएको र त्यसको राम्रो प्रतिफल आएकोले आफुले शुरू गरेको बताए । पराम्परागत आलुभन्दा सो आलु प्रतिकट्ठा २५ प्रतिशत बढी उत्पादन हुने भएकोले खेती गरेको उनले बताए ।

नीलकण्ठ आलुमा कार्बोहाइड्रेटको मात्रा काम हुने भएकोले मधुमेह रोगीहरूले उक्त आलु खान मिल्ने विज्ञहरूको सल्लाह अनुसार आफूले खेती गरेको यादवले बताए । उनले रातो कोभी पनि परीक्षणको रूपमा लगाएको बताए । काउलीको बीउ उत्पादन गर्ने उद्देश्यले यस वर्ष दुई सय झार लगाएको बताए ।

यादवले १० बिघा क्षेत्रफलमा कालो गहुँ लगाएका छन् । गहुँ पूर्णमा कालो हुने र यो अमेरिकी प्रजातिको भएको उनले बताए । कालो गहुँमा सेतो गहुँको तुलनामा मिनरल र भिटामिन बढी पाइने भएकाले सोको खेती गरेको बताए । यादवले छ बिघामा कालो मसुरो लगाएका छन् भने पाँच/पाँच बिघामा तोरी र सरसोको खेती गरेका छन् । अहिले गरिएको खेतीले आशाप्रदरूपमा उत्पादन दिएमा खर्च काटेर २० लाख आम्दानी अनुमान गरेको यादवले बताए ।

उनले कृषि कर्मको लागि रौतहट परिचित भएपनि व्यावसायिक खेतीतर्फ अग्रसरता नदेखाइएकोले बर्सेनि परम्परागत उत्पादन घटिरहेको बताए । सिंचाइ, बीउबिजन, मलको समस्याले किसानहरू पिरोलिनुपरेको र यसले गर्दा आशाप्रदरूपमा किसानहरूले खेतीबाट आम्दानी गर्न नसकेर निराश हुनुपरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here