प्रस, रौतहट, २६ गते माघ/
मौलापुर नगरपालिकाले सञ्चालन गरेको असहायको साथमा मेयर कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ ।

असहायको साथमा मेयर कार्यक्रममा १० कट्ठा जग्गा भएको परिवारले छोरीको विवाह गरेमा ३० हजार आर्थिक सहयोग गर्ने निर्णय भएको तर यसको नगरप्रमुख रीनाकुमारी साहले आफूखुशी नजीकका मानिसहरूलाई दिने र अरूलाई यो सुविधाबाट वञ्चित गर्ने आरोप लागेको छ । मौलापुर नपा–८ का ठगा साहले गत वर्ष छोरीको बिहे सम्पन्न भएको तर अहिलेसम्म रकम नपाएको गुनासो गरे । उनले बिहे भएपछि वडापालिकाले सिफारिश गरेर रकम माग गरिएको तर अहिलेसम्म नपाएको बताए । उनले नगरप्रमुखको नजीकका मानिसहरूले पाउने तर टाढाकाले नपाउने गरेको आरोप लगाए ।

यो कार्यक्रममा केहीले नपाबाट सहयोग पाएपछि किर्ते गर्न शुरू गरेको पाइएको छ । मौलापुर नपा–९ निवासी महेन्द्र राय यादवले गत वर्ष माघ २५ गते छोरीको बिहे गरेको तर अहिले उनले वडाबाट सिफारिश गरेर रकम माग गरेको पाइएको छ । नगरप्रमुख साहले हिजो बिहेको मिति थियो आफू रकम लिएर यादवको घरमा गएको त गत वर्ष नै बिहे सम्पन्न भएको थाहा पाएपछि फर्केको बताइन् । वडाध्यक्ष श्यामकिशोर साहले आफूलाई झुक्याएर सिफारिश गराएको बताएका छन् । उनले पछि आफूले बुझ्दा गत वर्ष नै यादवले छोरीको बिहे सम्पन्न गरेका तर रकम पाउने लोभमा मिति सच्चाएर झुक्याइ सिफारिश लिएको बताए ।

नगरप्रमुख साहले हिजोको घटना सार्वजनिक भएपछि यस प्रकारका कार्यहरू पहिले पनि भएको हुन सक्ने भन्दै छानबीन समिति गठन गरेर अनुदान सहयोग लिनेहरूको छानबीन गर्ने र दोषी देखिएकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताइन् । उनले आफूले कसैसँग भेदभाव नगरेको दाबी पनि गरिन् । वडाबाट सिफारिश भएर आएका सबैजनालाई रकम वितरण गरिएको उनले बताइन् । उनले कात्तिक र पुस महीनामा ५०/५० जना गरी सयजनालाई रकम वितरण गरिएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here