प्रस, परवानीपुर, २६ माघ/
वीरगंजमा नयाँ युवा उद्यमीको आइडियालाई प्लेटफर्म दिने अभिप्रायले वीरगंजमा ब्याटल अफ स्टार्टअप प्रतियोगिता सम्पन्न भएको छ । स्टडीफाई इन्टरनेशनलको आयोजनामा वीरगंजको स्वीफ्डफोर्ड कन्सल्टेन्सीको सभाहलमा आयोजित प्रतियोगितामा विजेताले रु ५० हजार नगदसहित प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा सनलाइट स्कूलका चारजना छात्राहरूको समूह विजेता बनेको छ । उक्त समूहमा रचना कर्ण, प्रिया सर्राफ, रिचा चौरसिया, दुर्गा थापा छन् । यसअघि शुक्रवार टप पाँचजना युवा उद्यमीलाई फाइनल राउन्डमा सहभागी गराइएको थियो ।

यसअघि पर्सा र बारा क्षेत्रबाट २० जना नयाँ आइडिया लिएर आएका युवालाई यस प्रतियोगितामा सहभागी गराइएको थियो । २० जना युवामध्ये चारजना निर्णायकले लिखित, आइडिया छनोट, अन्तर्वार्ताको चरणपश्चात् सेमिफाइनल राउन्ड सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष समीम अनवरले जानकारी गराए । यस्तो प्रतियोगिताले वीरगंजमा पढेर केही नयाँ गरौं भन्ने आशा जागोस् र युवा पुस्ता उद्यमतर्फ लागून् भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here