प्रस, वीरगंज, २६ माघ/
भौतिकवादी समाज नेपालको आयोजनामा भौतिकवादी मृत्यु संस्कार शुक्रवार भौतिकवादी तरीकाबाट सम्पन्न भएको छ ।

महोत्तरी राजवाडा गापा–४ निवासी समाजका केन्द्रीय सदस्य शङ्करप्रसाद रायकी आमाको मृत्युको भएको आज सातौं दिनको श्राद्ध कार्यक्रम नगरेर शोक तथा समवेदना सभा गरिएको थियो ।

केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी संस्कार कुनै जडता होइन र सबैखाले अन्धविश्वास र रूढिवादविरुद्ध दृढतापूर्वक उभिने बताए ।

आमा शिवज्योति देवीको सम्झनामा पाँचवटा रूख रोपेर शुरू भएको समवेदनासभामा कान्छा छोरा शङ्करप्रसाद रायले आमाले समाजकै अगाडि आफ्नो मृत्युपछि कुनै पनि प्रकारको धार्मिक कर्मकाण्ड नगर्नु भनेको बताए । सोहीअनुरूप दाहसंस्कारको सातौं दिन शोकसभा गरेर मृत्युसम्बन्धी सम्पूर्ण संस्कार सकाएको बताए ।

मधेस प्रदेशको कोष तथा लेखा नियन्त्रक डा वीरेन्द्रकुमार मिश्रले भौतिकवादी ढङ्गले जीवनयापन गर्दा बढी खुशी, सुखी र शान्तिको अनुभूति हुने बताए । उनले संस्कारहरू गर्दा पनि अध्यात्मवाद अपनाउनुभन्दा भौतिकवादी संस्कार अर्थात् अन्धविश्वासमुक्त भएर समाज अगाडि बढ्नु राम्रो हुने सुझाए । समाजका अध्यक्ष बैधनाथ श्रमजीवीले जीवन व्यवहारमा अन्धविश्वासी र अन्धभक्त बन्नुभन्दा तर्कशील बन्नु श्रेष्ठकर रहेको बताए । उनले मधेसी समुदायमा एउटा ब्राह्मणले धार्मिक कर्मकाण्ड अनुसार मृत्यु संस्कार नगर्नु निकै ठूलो क्रान्ति भएको बताए ।

शोकसभामा समाजका केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका अध्यक्ष रामदेव पाण्डेले आफूले आमा र बुबाको निधनपश्चात् कुनै पनि धार्मिक कर्मकाण्ड नगरेको बताए । यसो गर्दा आफू समाजबाट बहिष्कृत हुनुपरेको सम्झना गरे ।

चितवन जिल्ला अध्यक्ष ओमनाथ पाण्डेले माडी नगरपालिकामा आफूले पहिलोपटक बुबाको काजक्रिया बहिष्कार गर्दा नकारात्मक चुनौतीहरूको सामना गर्नुपरेको भएपनि अहिले सोही स्थानका ५० घरपरिवारले काजक्रिया बहिष्कार गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here