प्रस, वीरगंज, माघ २६/
वीरगंज महानगर–११ रानीघाटस्थित जीवनज्योति माध्यमिक विद्यालयले “वृद्धवृद्धाको सम्मान, हाम्रो अभियान” नारासहित हजुरबुबा/आमा दिवस मनाएको छ । विद्यालयकी निर्देशिका मीनाक्षी कर्माचार्य गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रतीक दैनिकका स्तम्भकार एवं नेशनल इन्फोटेकका माध्यमिक तह संयोजक अनन्तकुमारलाल दासले गरेका थिए । उनले वृद्धवृद्धाप्रति सामाजिक चेतनाको स्तर वृद्धि गर्न विद्यालयहरूले बालबालिकाहरूमा संस्कारको विकास गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकको हेरचाह, सम्मान र दायित्वबोध हुने कार्यक्रम वडास्तरदेखि सङ्घीय सरकारसम्मले गर्नुपर्ने सुझाए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष युवराज खडका, समाजसेवी मधु राणा, चञ्चला दासलगायतका वक्ताहरूले ज्येष्ठ नागरिकप्रतिको कर्तव्य समाजले बिर्संदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरूले विद्यालय तहदेखि उच्च तहसम्म यस्ता कार्यक्रमहरू सञ्चालन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयका बालबालिकाहरूले आप्mना हजुरआमा र हजुरबुबाप्रति सम्मान व्यक्त गर्दै उनीहरूबाट पाठ सिक्नुपर्ने र भविष्यमा हजुरआमा र हजुरबुबाको हेरचाह गर्ने गीतनृत्यको माध्यमबाट प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा शिक्षिका सन्ध्याले स्वागत र शिक्षक उज्ज्वल घिमिरेले सहजीकरण गरेका थिए ।