चिरञ्जीवी सापकोटा, ठोरी, २६ माघ/
सहपाठी नेतृत्व विकाससम्बन्धी पाँच दिने तालीम शुक्रवार ठोरी गाउँपालिकामा सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साले ठोरी गापा–२ सरस्वती मावि, गौतमनगरमा माघ २२ गतेदेखि पाँच दिने तालीम आयोजना गरेको थियो । बालविवाह न्यूनीकरणको लागि किशोरकिशोरीलाई सशक्त बनाउन सञ्चालित परियोजना अन्तर्गत प्रथम चरणमा ठोरीका पाँचवटा विद्यालयका २० जना छात्रछात्रालाई तालीममा सहभागी गराइएको सामाजिक परिचालक अमन श्रेष्ठले बताए ।

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साकी कार्यक्रम संयोजक सरस्वती खरेल, अनुगमन तथा मूल्याङ्कन अधिकृत विपना श्रेष्ठ, शिक्षक दीपेन्द्र सापकोटा र पार्वती कुँवरले तालीमको सहजीकरण गरेका थिए । ताीलममा पाँचवटा विद्यालयका दुई/दुई जना छात्रछात्रा सहभागी थिए । तालीममा सहभागी विद्यार्थीहरूले आआफ्नो विद्यालयमा बालविवाहसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी सचेतना फैलाउने बताए ।

कार्यक्रम संयोजक खरेलले अब दोस्रो चरणको कार्यक्रम फागुनको दोस्रो सातादेखि गापाका बाँकी चारवटा विद्यालयका १६ जना विद्यार्थीलाई दिइने जानकारी गराइन् । उनकै अध्यक्षतामा भएको समापन कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलको पनि सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here