बलिराम शुक्ला, बिरुवागुठी, २६ माघ/
सखुवाप्रसौनी गाउँपालिका–१ सखुनियाबाट सालको गोलिया आराले चिरान गरिरहेको अवस्थामा वनगस्ती टोलीले बरामद गरेको छ । सूचनाको आधारमा वनगस्ती टोलीले शुक्रवार सखुनिया निवासी ठग महतो थारूको घरमा छापामारी गरेको र चिरान गरिरहेको अवस्थामा तीन थान सालको गोलिया बरामद भएपछि निजलाई पक्राउ गरेको थियो ।

विन्ध्यवासिनी कोइलाभार साझेदारी वनबाट सालको काँचो गोलिया तस्करी गरी घरमा हाते आराबाट चिरान गरिरहेको अवस्थामा सबडिभिजन वन कार्यालय, मनवाका रेन्जर विजय यादव नेतृत्वको वनगस्ती टोलीले दसी प्रमाणसहित थारूलाई पक्राउ गरेको थियो । थारूको घरबाट सालको गोलिया बरामद भएपछि वनगस्ती टोलीले थारूलाई पक्राउ गर्दा स्थानीयले वनगस्ती टोलीलाई अवरोध गरेका थिए । वनगस्ती टोलीमाथि स्थानीय हाबी भएपछि आसपासका सशस्त्र र जनपद प्रहरी घटनास्थलमा परिचालित भएका थिए ।

प्रहरी नआउन्जेलसम्म आराले चिरान गर्ने एकजना व्यक्ति भने भाग्न सफल भएको सबडिभिजन वन कार्यालय, बडनिहारका वन अधिकृत उज्ज्वल यादवले बताए । उनले पक्राउ परेका थारूलाई डिभिजन वन कार्यालय, पर्सामा पठाइएको र फरार व्यक्तिको पहिचान गरी खोजी कार्य भइरहेको बताए । बरामद तीन थान सालको गोलिया सबडिभिजन वन कार्यालय, मनवामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here