• राजेश मिश्र

“तब, बात पक्का समझल नु जाँव ?” केटीका बुबाले हात जोडेर आग्रहपूर्ण लवजमा मनोभाव व्यक्त गरे । यो कुराले सन्नाटा छायो । केटाकेटी दुवै पक्षका निकटतम कुटुम्बहरू त्यहाँ उपस्थित थिए । यस्तो लाग्थ्यो कि केटीपक्षले केटापक्षको ऋण खाएर नतिर्ने आग्रह गरिरहेको छ । यद्यपि केटीपक्ष केटापक्षबाट सकारात्मक प्रतिउत्तरको आशामा थियो ।

महीनौंदेखि र कयौंपटकको दौडधूपपछि केटापक्षले विवाहको लागि सहमति जनाएको थियो । सहमतिपछि दाइजोको लेनदेनको छिनोफानो गर्न यसअघि दुई/तीन पटक बैठक बसे पनि टुङ्गो लाग्न सकेको थिएन । टेलिभिजन दिन अक्षम रहेको केटीपक्षको सन्देश केटापक्षको घरमा पुग्ने बित्तिकै उताबाट विवाह नगर्ने इन्कारी सन्देश आएको थियो । यो खबरले केटीपक्ष दुःिखत थियो । त्यस कारण आज केटीका बुबा आफ्ना निकटतम कुटुम्बहरूसहित केटापक्षको द्वारमा आइपुगेका थिए ।

केटीपक्षले नगद, लत्ताकपडा र गरगहनासँगै हीरो वा एटलस साइकलमध्ये रोजे अनुसार कुनै एक तथा एल्विन घडी दिन तयार थियो । यद्यपि केटापक्षले टेलिभिजन, एन्टेना र १२ भोल्टको ब्याट्री नदिए विवाह नहुने कुरामा अडिग थियो । मध्यस्थकर्ताले दुवै पक्षलाई लचिलो हुन आग्रह ग-यो । तर त्यो आग्रह केटापक्षको अगाडि निरर्थक थियो ।

केटीपक्षले हैसियतभन्दा बढी सकार गरिसकेको आग्रह गरिरहेको थियो भने केटापक्षले छिमेकीले दाइजोमा टेलिभिजन सेट पाएको बताउँदै आफूले नपाए समाजमा मान–प्रतिष्ठा हनन हुने कुरा सुनाइरहेको थियो । दुवै पक्षबाट चार/पाँच जना कुटुम्बले कहिले केटीपक्षलाई त कहिले केटापक्षलाई एकान्तमा लगेर सम्झाइबुझाइ गरिरहेका थिए । यद्यपि केटाका बुबाको ढुङ्गाझैं कडा ह्दयमा जति मलजल गरे पनि सहानुभूतिको घाँस उम्रने सम्भावना शून्य प्रतीत भइरहेको थियो ।

अगुवाहरूको पहलविना विवाह उहिले होस् वा आज, सम्भव छैन । दुवै पक्षका अगुवाहरूबीच आपसमा छलफल भयो । टेलिभिजन तिलकअघि तथा साइकल र घडी विवाहको दिन दिने कुरा उनीहरूले अघि सारे । केटापक्षले कपडा, साइकल र घडी तिलकअघि नै केटीपक्षसँग लिने चलन थियो । यसको एकमात्र कारण थियो, अविश्वास । अगुवाहरूले धेरै प्रयत्न गरेपछि केटाका बुबा तयार भए । विवाहको दिन तय भयो । दुवैतर्फ तयारी शुरू भयो ।

पूर्वनिर्धारित योजना अनुसार आज टेलिभिजन खरीद गर्न जाने साइत थियो । शहरको निर्धारित स्थानमा केटीपक्षका एकाधजना र केटापक्षबाट १०–१२ जनाको लावालस्कर जम्मा भए । १४ इन्चको सादा टेलिभिजन, एन्टेना र ब्याट्री खरीद गरे । दुवै पक्ष चिया, नास्ता, मिठाइ र पान ग्रहण गरेपछि छुट्टिए । केटापक्षका कुटुम्बहरूमध्ये कसैले टेलिभिजन, कोही एन्टेना र कसैले ब्याट्री साइकलमा लोड गरे र प्रस्थान गरे । उनीहरूको मुहारमा खुशीको भाव हेर्न लायक थियो । घरमा टेलिभिजन पुगेपछि पूजापाठ भयो । अब आफ्नै घरमा रामायण हेर्न पाइने कुराले परिवारभित्र खुशीको सीमा थिएन ।

३९ वर्षअघि अर्थात् सन् १९८७ खास वर्ष थियो । किनभने सोही वर्षदेखि भारतीय टेलिभिजन च्यानल दूरदर्शनबाट रामायणको धारावाहिकरूपमा प्रसारण प्रारम्भ भयो । आइतवारको दिन बिहान १० बजे रामायण प्रसारण हुन्थ्यो । त्यति बेला टेलिभिजन खरीद गर्नु आम हैसियतभित्र पर्दैन थियो । टेलिभिजन, एन्टिना र ब्याट्री गरी झन्डै १० हजार भारु पथ्र्यो । यति रकम सामान्य मानिसको लागि चानचुने कुरा थिएन । घरमा टेलिभिजन भिœयाउने उपयुक्त उपाय थियो, छोराको विवाह । सन् ९० को दशकमा दाइजोमा टेलिभिजन थप भएको थियो ।

त्यति बेला टेलिभिजनको उत्पादन र बजारीकरण सीमित थियो । ठूला शहर र धनी मानिसबाहेक सामान्यजनको पहुँचमा थिएन । त्यस बेला राजा महाराजाबाहेक धनी मानिसहरूको मानकहरूमध्ये हात्ती पनि एक थियो । टेलिभिजले हात्तीको मानक पछि पा-यो । टेलिभिजन प्रतिष्ठा र धनवानको मानक बन्यो ।

भारतमा ‘टेलिभिजन इन्डिया’ नामले १५ सेप्टेम्बर, १९५९ च्यानल स्थापना भयो । शैक्षिक र विकास कार्यक्रमहरूको प्रयोगात्मक प्रसारण शुरू भएको थियो । त्यति बेला हप्तामा तीन दिन र त्यो पनि आधा घण्टा मात्र प्रसारण हुन्थ्यो । सन् १९७५ मा यसको नाम ‘दूरदर्शन’ नामकरण गरियो ।

२०४२ साउन २९ (१३ अगस्त, १९८५) मा नेपाल टेलिभिजनको परीक्षण प्रसारण थालनी गरिएको थियो । त्यस बखत कार्यक्रमको प्रसारण समय बेलुकी ७ देखि ७ः४५ बजेसम्म सीमित थियो । शुरूमा यसले भिएचएफ र पछि युएचएफ ब्यान्डमा १०० वाटको प्रसारण सेटबाट कार्यक्रमहरू प्रसारण गर्ने गथ्र्यो, जुन काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध थियो । त्यसै बेला नेपाल टेलिभिजन परियोजनाले गरेको एक सर्वेक्षण अनुसार काठमाडौंमा एक हजार २६६ वटा मात्र टेलिभिजन सेट थिए । विसं २०४२ को सार्क सम्मेलनताका यसले थुप्रै प्राविधिक प्रगति हासिल गरेको थियो ।

सार्क सम्मेलनको अवसरमा सरकारी तहबाट रङ्गीन टेलिभिजन सेट केही पञ्चायतहरूलाई उपलब्ध गराइएको थियो । केही वर्षपछि नेपाल टेलिभिजनले रामायणको प्रसारण प्रारम्भ ग¥यो । सोमवारको दिन बेलुका आठ बजेको समाचारपछि रामायण प्रसारण हुन्थ्यो । भारतीय टेलिभिजन दूरदर्शनबाट प्रसारण भइसकेको भाग नेपाल टेलिभिजनले प्रसारण गथ्र्यो । रामायणको प्रसारणको समय दूरदर्शनभन्दा नेपाल टेलिभिजनको समयसापेक्ष थियो । त्यस कारण नेपाल टेलिभिजन सीमा वारि र पारि दुवैतर्फ लोकप्रिय थियो । रामायणको प्रसारण समय आधा घण्टाको थियो । मानिसहरू यतिविघ्न दत्तचित्त भएर हेर्थे कि आधा घण्टा समय बितेको पत्तै हुन्थेन । त्यसपछि अर्को सोमवार पर्खिनुको विकल्प थिएन । मानिसहरूको आतुरता वर्णन गरेर साध्य थिएन ।

भारतको टी–सिरिज कम्पनीले टेलिभिजनको दुनियाँमा क्रान्ति ल्यायो । उसले टेलिभिजनको उत्पादन र बिक्री वितरण शुरू गरेपछि नजीकका शहरहरूमा उपलब्ध हुन थाल्यो । रामायणको कारण टेलिभिजनको बजार प्रगति उन्मुख थियो । लगनको समयमा सीमावर्ती रक्सौल बजारमा टेलिभिजन खरीद गर्ने बेहुला र बेहुली पक्षको भीड हुन्थ्यो । घडी र साइकलमा सीमित दाइजो कुप्रथामा टेलिभिजन अनिवार्य भार थप भयो ।

गाउँहरूमा गाडिएका अग्लो बाँसमा महावीरजीको ध्वजा लहराउने घरहरू बढी हुन्थ्ये । टेलिभिजनको आगमनपछि दाइजोमा प्राप्त टेलिभिजनका एन्टेना बाँधिएका अग्ला बाँसहरू थप हुन थाले । पहिलोपटक टेलिभिजन भित्रिएका घरका सदस्यहरू मात्र हैन, छिमेकीहरू पनि खुशी हुन्थे । टेलिभिजन भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण नै फरक हुन गयो । मानिसहरू जम्मा भएपछि टेलिभिजन र रामायणकै प्रसङ्गले स्थान पाउँथ्यो । कतिपयले त त्यत्रो सानो आकारको उपकरणमा मानिसहरू कसरी अटाएका छन्, उनीहरू कहाँ खान्छन् र सुत्छन् जस्ता कौतुहलता जाहेर गर्थे । त्यति बेला टेलिभिजनमा श्रव्यदृश्य प्रकट हुनु आम मानिसका लागि दैवी शक्ति नै कारण रहेको बुझाइ थियो ।

एकपटकको कुरा हो । एकजना परिचितको घरमा टेलिभिजन चलिरहेको बेला श्रव्यदृश्य गायब भयो । १४ इन्चको सादा टेलिभिजनमा सेतो र कालो असङख्य बुँदाहरूसँगै झर्रर्र … को ठूलो आवाज आउन थाल्यो । तेज हावाको कारणले एन्टिनाको दिशा परिवर्तन भइसकेको थियो । सोही घरको एकजना युवकले आँगनमा गएर बिस्तारै एन्टिना घुमाउन थाल्यो । दृश्य कहिले आउने त कहिले जाने भइरहेको थियो । धेरैबेरको प्रयासपछि दृश्य आयो । सबैजना बसेर हेर्न थाले । त्यसै बेला ती युवकको आमाले सत्यनाराण भगवान्को पूजा गर्ने भाकल गरेको कुरा सुनाइन् । युवकले दैवी कारणले होइन, एन्टिना घुमेकोले दृश्य गायब भएको कुरा जति सम्झाए पनि आमा मान्न तयार थिइनन् । उनले भाकल गरेपछि टेलिभिजनमा दृश्य आएको कुरा बारम्बार भनिरहेकी थिइन् ।

सोमवारको दिन नेपाल टेलिभिजनबाट प्रसारण हुने रामायण र शनिवारको दिन हिन्दी फिल्म नेपाली दर्शकमाझ मात्र होइन, भारतीय दर्शकहरूमाझ पनि उत्तिकै लोकप्रिय थियो । किनभने दूरदर्शनभन्दा नेपाल टेलिभिजनको श्रव्यदृश्य सफा आउँथ्यो । सीमावर्ती क्षेत्रमा एउटा समस्या के थियो भने एउटै एन्टेनाबाट नेपाल टेलिभिजन र दूरदर्शन सफा चल्दैन थियो । भिएचएफ (भेरी हाई फ्रिक्वेन्सी) र युएचएफ (अल्ट्रा हाई फ्रिक्वेन्सी) गरी दुई प्रकारका एन्टिना बजारमा उपलब्ध थियो ।

मानिसहरूले भिएचएफ एन्टेनालाई ‘बेतियावाला’ र युएचएफ एन्टेनालाई ‘मोतिहारीवाला’ नामले सम्बोधन गर्थे । मानिसहरूलाई उपकरणको प्राविधिक विषयमा न ज्ञान थियो, न सरोकारको विषय नै थियो । उनीहरूलाई टेलिभिजनमा सफा श्रव्यदृश्य हेर्नुसँग मतलब थियो । भिएचएफ एन्टेनाबाट नेपाल टेलिभिजन सफा आउँथ्यो भने दूरदर्शन त्यति सफा आउँदैन थियो । युएचएफ एन्टेनाबाट केवल दूरदर्शन आउँथ्यो ।

भिएचएफ र युएचएफ एन्टेनाको मूल्यमा झन्डै तीन गुणाको अन्तर थियो । भिएचएफ एन्टेनाको भारु तीन सय पथ्र्यो भने युएचएफको भारु एक हजारभन्दा बढी थियो । कतिपय अभिभावकहरूले दाइजोमा टेलिभिजन लिने उद्देश्यले छोराको उमेर नपुग्दै विवाह गरिदिने वातावरण समाजमा झाङ्गिदै गयो । अहिले दाइजो कुप्रथाभित्र अत्याधुनिक प्रविधिलले युक्त महँगा टेलिभिजन समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here