• डा शिवशङ्कर यादव

पाठकवृन्द बालपनको विकृतिलाई १० वर्गमा बाँडिएको छ, यथा : मन्दबुद्धि, खासखास विकासको विकृति, विकासको व्यापक विकृति, अत्यधिक चञ्चलताको विकृति, चालचलनको विकृति, अनुहार आदि मासंपेशी खुम्च्याउने विकृति, जथाभावी दिसापिसाब गर्ने विकृति, बोलीको विकृति, बानीको विकृति तथा अन्य विकृतिहरू । यीमध्ये कन्डक्ट अथवा चालचलनको विकृतिसम्मको वर्णन गताङ्कमा भइसकेको छ ।

टिक डिजार्डर वा अनुहार र अन्य अङ्ग खुम्चयाउने विकृति : टिकको अर्थ हुन्छ खुम्च्याउनु । अतः यो यस्तो विकृति हो, जसमा अनायास केही बेर बिराएर वा लगातार छिटोछिटो शरीरका अङ्ग खुम्चिन्छ, जसमा बच्चाको कुनै उद्देश्य र प्रयास हुँदैन । मेरो गाउँमा भीखम नामका एकजना मानिस थिए, जसको आँखा स्वयमेव झम्किन्थ्यो । उनी कसैसँग कुरा गरिरहेका हुन्थे तर उनको आँखा झिम्किहाल्थ्यो । जानकारहरूको लागि त त्यो केही थिएन, तर यसै कारण तरकारी खरीद गर्दा बिचरा कति महिलासित कुटाइ खाएका थिए । जब महिलालाई उनको यस बानीको जानकारी हुन्थ्यो, माफी माग्थे । यही हो टिक डिजार्डर । यसको दुई प्रकार हुन्छ : १. मोटर टिक, जसमा मांसपेशीको सङ्कुचन हुन्छ र २. भोकल टिक जसमा बारम्बार एकै प्रकारको आवाज निस्कन्छ । दुवै विकृति क्षणिक वा क्रोनिक हुन्छ । मोटर टिक पनि दुई प्रकारको हुन्छ : सिम्पल र कम्प्लेक्स । सिम्पल भनेपछि आँखा झिम्काउनु, मुख बङ्ग्याउनु, कुम हल्लाउनु र काँध उच्काउनु, जस्तो भाषण गर्दा प्रचण्डले गर्छन् तथा जिब्रो बाहिर निकाल्नु आदि । कम्प्लेक्समा हुन्छ : अनुहार खुम्च्याउनु, देखिएको क्रिया दोहो¥याउनु, कुद्नु, गोडा कुल्चिनु, हात घुमाउनु आदि । मोटर टिक पहिले टाउकोबाट शुरू हुन्छ र तल झर्दै आवाजसम्म पुग्छ । भोकल टिक पनि सिम्पल र कम्प्लेक्स दुवै प्रकारको हुन्छ । सिम्पलमा खोक्नु, भुक्नु, घाँटी सफा गर्नु, सिटी बजाउनु वा नाके स्वर आदि पर्छ । कम्प्लेक्समाः सुनेको उखान दोहो¥याउने, सुनेको शब्द दोहो-याउने । जस्तैः कुराकुरामा ‘मानेकि’, ‘ठीक छ नि’ ‘चाहिने जो’ तथा अश्लील शब्द दोहो-याउने आदि ।

यस अतिरिक्त एउटा विशेष प्रकारको टिक डिजार्डर हुन्छ, जसलाई टौरेटी सिन्ड्रोम भनिन्छ, जसको पत्ता फ्रेन्च न्युरोलाजिस्ट जर्ज अल्बर्ट गिलिज डी ला टौरेटीले लगाए, जसमा मल्टिपल मोटर टिक र मल्टिपल भोकल टिक दुवै हुन्छ, जो एक वर्षको अवधिको हुन्छ र प्रायः ११ वर्षभन्दा पहिले वा २१ वर्षमा हुन्छ । यो महिलाभन्दा पुरुषमा तीन गुणा बढी तथा प्रत्येक दुई हजारमा एकजनामा देखिन्छ । यसको असली कारण थाहा छैन, तर जैविक र जिनेटिक कारणले यस्तो हुन्छ भन्ने अनुमान छ । टिक डिजार्डरको मुख्य उपचार औषधि नै हो तर कहिलेकाहीं बिहेवियर थेरापीलाई पनि सहायकको रूपमा जोडिन्छ । औषधिमा हेलोपेरिडोल मुख्य हो तर रेसिस्टेन्ट केसमा पिमोजाइड वा क्लोनोडिन दिनुपर्छ ।

ननआर्गेनिक एन्युरेसिस र एन्कोप्रेसिस वा अजैविक जहाँ तहाँ पिसाब र दिसा गर्ने विकृति : बच्चाहरू प्रायः जहाँतहाँ पिसाब गरिदिन्छन्, सुतेपछि ओछ्यानमा पनि । यी दुवै विकृतिलाई एन्युरेसिस भनिन्छ । स्नायुहरू त्यति बेला माइलिनेटेड नहुनाले यस्तो हुन्छ । तीन वर्षमा स्नायु माइलिनेटेड हुन्छ र एन्युरेसिस पनि हराएर जान्छ । तर सात प्रतिशत बच्चामा यो पाँच वर्षसम्म पनि देखिन्छ । प्राविधिकरूपले यस कारण एन्युरेसिसको डायग्नोसिस पाँच वर्षपछि मात्र गरिन्छ । एन्युरेसिस दुई प्रकारको हुन्छ ः प्राइमरी र सेकेन्डरी । प्राइमरीमा पिसाब नियन्त्रित गर्ने क्षमता कहिले पनि प्राप्त हुँदैन । सेकेन्डरीमा पिसाब रोक्ने क्षमता प्राप्त त हुन्छ तर कसैकसैमा १९ वर्षसम्म पनि यो देखिने गरेको छ । एन्युरेसिसको ८० प्रतिशत केसमा केवल ओछ्यानमा पिसाब गर्ने घटना देखिन्छ र पुरुषमा महिलाभन्दा यो दुई गुणाले बढी पाइन्छ । यसको खास कारण थाहा नभए पनि यसको जैविक, साइको र सोसल तीनवटै कारण हुन्छन् । यसका ७५ प्रतिशत मामिलामा बच्चाको मातापितामा पनि यसको इतिहास हुन्छ । साइकोसोसल कारणमा मुख्यतः भावुकता, असुरक्षा, डाहा र ईष्र्या तथा मातापिताको मृत्यु हुन्छ । १५ प्रतिशत र एडोलेसेन्टको पाँच प्रतिशतमा जैविक कारण हुन्छ, जसमा पर्छ : कृमि सङ्क्रमण, स्पाइना वाइफिडा अर्थात् स्पाइनल बोनको फ्युजन नहुने, न्युरोजेनिक ब्लैडर–साइकोलोजिकल कारणले जब पिसाब नभएर क्षमताभन्दा बढी पिसाबको थैली भरिएको अवस्था, पिसाबमा सङ्क्रमण, मधुमेह र छारे रोग हुन्छ । सेकेन्डरी पाँचदेखि आठ वर्षमा देखिन्छ, जुन आफसेआफ ठीक हुन्छ तर पनि एक प्रतिशतमा वयस्कावस्थासम्म रहन सक्छ । यसको उपचारका लागि निम्नलिखित एक वा एकभन्दा बढी विधि प्रयोग गरिन्छ । यथाः ओछ्यानमा पिसाब भइरहन्छ भने बेलुकी ८ बजेपछि पानी नखाने, दिनमा ब्लाडर ट्रेनिङ दिने ताकि बच्चा पिसाब रोक्न सिकोस्, सुत्नुभन्दा पहिले र बच्चाले पिसाब गर्ने अनुमानित समयमा बच्चालाई उठाएर पिसाब गराउने, आजकाल आवाज निकाल्ने कृत्रिम उपकरण पाइन्छ, जसलाई बच्चालाई लगाइदिएर सुताइन्छ । मेशीनले बच्चाले पिसाब गर्न लागेको बेला आवाज दिन्छ । आवाज सुन्नेबित्तिकै बच्चालाई उठाएर पिसाब गर्न लगाइन्छ । यसलाई कन्डिशनिङ उपकरण भनिन्छ र यसको उचित प्रयोग गरियो भने राम्रो परिणाम दिन्छ । कहिलेकाहीं बच्चा, मातापिता र परिवारलाई सपोर्टिभ साइकोथेरापी पनि दिइन्छ । औषधोपचारमा इमिप्रामिन र सुँघ्ने डेस्मोप्रेसिनको सफलतापूर्वक प्रयोग गरिन्छ । अर्को औषधिमा डाइजेपाम, एम्फेटामिन र प्लेसिवो छन् तर त्यति परिणाममुखी हुँदैन ।

एन्कोप्रेसिस अथवा जथाभावी दिसा फेर्ने विकृतिः जब बच्चा बारम्बार अनुचित समय र अनुचित ठाउँमा दिसा गर्छ, त्यसलाई एन्कोप्रेसिस भनिन्छ । यो जैविक कारणले हुने दिसा हो, जसलाई इन्कन्टिनेन्स भनिन्छ, त्यसभन्दा भिन्न हुन्छ । साधारणतया दुईदेखि तीन वर्षमा ट्वायलेट ट्रेन्ड भइसक्छ । अतः चार वर्षपछि पनि त्यो बानी रह्यो भने उसलाई एन्कोप्रेसिस भनिन्छ । यो पनि दुई प्रकारको हुन्छ ः प्राइमरी र सेकेन्डरी । प्राइमरीमा बच्चा कहिले पनि ट्वायलेट ट्रेन्ड हुँदैन । सेकेन्डरीमा प्राप्त गरे पनि एन्कोप्रेसिस हुन्छ । दुवै टिपिकली चार देखि आठ वर्षमा देखिन्छ । यो पुरुषमा महिलाभन्दा चार गुणा बढी हुन्छ । केवल एकदेखि साढे एक प्रतिशत मात्र पाँच वर्षपछि पाइन्छ, जुन उमेर बढेसँगै ठीक हुँदै जान्छ र १६ वर्षपछि हुँदैन । यस्ता २५ प्रतिशत रोगीमा एन्युरेसिस पनि पाइन्छ । जसमा ट्वायलेट ट्रेनिड्ढो कमी, परिपक्वता नहुनु, हाइपरकाइनेटिक डिजार्डर, बढी भावुकता, मन्दबुद्धि, चाइल्डहूड सिजोफ्रेनिया र अटिज्म । यसलाई जैविक कारणले हुने अवस्थाबाट छुट्याउनुपर्छ, जसमा पर्छ : हर्सप्रङ डिजिज । यसमा महीनौं दिसा हुँदैन र मलाशय भरिएर फैलिन्छ, ओभरप्mलो डायरियासँंगै कब्ज पनि भएको, हाइपोथायरायडिज्म, आन्द्राको सङ्क्रमण । यसरी हुने बारम्बारको दिसालाई इन्कन्टिनेन्स भनिन्छ । उपचारमा लगातार ट्वायलेट ट्रेनिङ गर्ने, पारिवारिक माहोल हँसिलो र रसिलो हुनुपर्ने, जसले बच्चाको भावना आहत नहोस् । बिहेवियर थेरापी मुख्य मनोवैज्ञानिक उपचार हो । अर्कोमा साइकोथेरापी र औषधिमा इमिप्रामीन पनि दिइन्छ ।

स्पीच डिजार्डर वा बोलीको विकृतिः हामीले किसिमकिसिमका मानिस र बच्चा देखेका छौं । कोहीकोही धाराप्रवाह पढ्न वा बोल्न सक्दैन । बीचबीचमा रोकिएर पढ्छ वा बोल्छ । कुनैकुनै शब्द दोहो-याएर मात्र अगाडि बढ्छ– जस्तै ‘माने कि’, ‘चाइने जो’, ‘ठीक छ नि’, ‘बुझ्नु भो’ आदि इत्यादि । यसको अतिरिक्त भकभकाएर बोल्ने व्यक्तिसँग त प्रायः सबैको जम्काभेट भएकै होला । यी सबै ब्रेनका विभिन्न क्षेत्रमा खराबीले घटित हुन्छ । अतः स्पीच डिजार्डरलाई निम्नलिखित लक्षणले पहिचान गरिन्छः

धाराप्रवाहमा रोकावट वा लयताल नमिलेको

बीचबीचमा पूरै बोली बन्द हुने, छिटोछिटो बोल्ने बानीले शब्दलाई दोहो¥याउने, आवाज विस्तार गर्ने, चिन्ता लागेर विचलित हुने, यसलाई स्टटरिङ वा स्टेमरिङ भनिन्छ, जसलाई नेपालीमा भकभकाउनु भनिन्छ । यो धेरै सामान्य विकृति हो, जसले दुईदेखि पाँच वर्षका बच्चा र आधादेखि एक प्रतिशत वयस्क पीडित हुन्छन् । पुरुषमा यो महिलाभन्दा तीन गुणा बढी हुन्छ । यसलाई क्लटरिङ अर्थात् अत्याएर बोल्ने बानीबाट छुट्याउनुपर्छ । स्टेटरिङमा मानिसलाई बोलीमा भएको कठिनाइ थाहा हुन्छ तर क्लटरिङमा थाहा हुँदैन कि उसले गलत तरीकाले बोलिरहेको छ । उसलाई सबै ठीकै लाग्छ । यसो त दुवै ब्रेनको ब्रोकाज र वर्निंक्स एरियामा गडबडीले हुने गर्छ तर अभ्यासले त्यस एरियालाई केही मात्रामा वा पूरै सक्रिय पार्न सकिन्छ । अतः बिहेवियर परिवर्तनको प्रशिक्षण, चिन्ताको लागि रिलेक्सेशन टेक्निक, व्यक्तिगत वा समूहगत थेरापी तथा औषधीय उपचारबाट यसलाई ठीक गर्न सकिन्छ ।

यसबाहेक दुई अरू डिजार्डर पनि उल्लेखनीय छन् । पहिलो हैबिट डिजार्डर र दोस्रो म्युटिज्म । पहिलोमा अक्सर बच्चा औंला चुस्ने गर्छ । जब यो वयस्क अवस्थासम्म पनि रहन्छ भने त्यो डिजार्डर हो । त्यस्तै मानिसमा मुखले नङ टोक्ने बानी हुन्छ । यसको उपचार बिहेवियर थेरापी हो । त्यस्तै, म्युटिज्म डिजार्डर त्यो हो, जब बच्चा कुनै अपरिचितको सामुन्ने र विद्यालयमा बिल्कुल म्युट हुन्छ, तर घरमा ठीक रहन्छ । यसलाई साधारण लजालु स्वभावसित छुट्याउनुपर्छ । यो अक्सर समयसँगै ठीक हुँदै जान्छ तर कहिलेकाहीं औषधिमा फ्ल्युओक्सिटिन दिन सकिन्छ । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here