वीरगंज महानगरमा कुनै बखत सञ्चालनमा रहेका कटेज रेस्टुराँहरूबाट मानिसहरू ठगिने गरेका थिए । खासगरी भारतीय नागरिकहरू । वीरगंजको बाइपास सडकमा कटेज रेस्टुराँहरू सञ्चालनमा थिए र सो बाटो भारतबाट आउनेहरू कटेज रेस्टुराँमा ग्राहक आकर्षित पार्नका लागि राखिएका युवतीहरूलाई देखेर जाने गर्थे । रेस्टुराँ सञ्चालकले युवतीहरूलाई ग्राहकपिच्छे कमिशन दिन्थ्यो । रेस्टुराँमा आउने ग्राहकहरूको बिल बढाउनु युवतीहरूको काम थियो । बियर, मदिरा, जुस र खाद्य पदार्थको मूल्य अचाक्ली राखेर ग्राहकसँग असुलउपर गरिन्थ्यो र पछि कारोबारको आधारमा सञ्चालकले युवतीहरूलाई कमिशन दिन्थ्यो । उनीहरूको यो व्यापार लामो समयसम्म वीरगंजमा चल्न सकेन र अहिले करीब डेढ दशक भयो महानगरमा कटेज रेस्टुराँको व्यापार बन्द भएको । ठीक यही पारामा अहिले वीरगंजका अस्पतालहरू सञ्चालनमा छन् । अपवादका अस्पतालबाहेक प्रायः अस्पतालहरू कमिशनकै आडमा चलिरहेका छन् ।

वीरगंज महानगरमा मात्र अहिले सयको हाराहारीमा निजी अस्पताल, नर्सिङ होम सञ्चालनमा छन् । शुरूका दिनमा सरकारी नारायणी अस्पतालबाट बिरामीहरू निजी अस्पतालमा पु-याउने काम गरिन्थ्यो । किनभने सबैभन्दा बढी बिरामीको चाप सोही अस्पतालमा हुन्थ्यो । चिकित्सक, नर्स, कम्पाउन्डर, कर्मचारी, यहाँसम्मकी स्वीपर, सुडेनीहरूले पनि बिरामीहरूको हैसियत अनुसार निजी अस्पतालमा पु¥याउने गर्थे । अहिले पनि नारायणी अस्पतालमा कार्यरत धेरैजसो चिकित्सकले बिरामीलाई आआफ्नो अस्पताल, नर्सिङ होममा आउन बाध्य पारिरहेका छन् । सरकारी अस्पतालमा सेवा राम्ररी नदिने, दिए पनि बिगारिदिने, अनि सोही सेवा आफ्नो अस्पतालमा भने राम्ररी प्रदान गर्ने गरेकाले आर्थिकरूपमा सम्पन्न मानिसहरू नारायणीमा सेवा लिनुको साटो निजी अस्पतालमा जान रुचाउँछन् । पछिल्लो समयमा वीरगंजमा पनि सुविधासम्पन्न निजी अस्पतालहरू एकपछि अर्काे खुल्ने क्रममा छन् । ती अस्पतालहरूमा बिरामी अभाव हुन नदिनका लागि सञ्चालकहरूले विभिन्न तिकडमहरू अख्तियार गर्दै आएका छन् । त्यसैमध्ये एउटा तिकडमको संवाहक एम्बुलेन्स चालकहरू हुन् । बिरामीलाई अस्पतालसम्म पु-याउने कार्यमा एम्बुलेन्स अग्रस्थानमा आउँछ ।

कुन बिरामीलाई कुन अस्पतालमा लैजानुपर्छ भन्ने जानकारी एम्बुलेन्स चालकहरूलाई राम्ररी थाहा हुन्छ किनभने उनीहरूको यो दैनिकी हो । बिरामीलाई चाँडो र सुविधाजनक तरीकाबाट उपचार हुने अस्पतालसम्म पु-याउनुपर्ने उनीहरूको कर्तव्य पनि हो । तर कमिशनको कारण कर्तव्य बिर्सेर एम्बुलेन्स चालकहरूले बिरामीलाई आफ्नोअनुकूलका निजी अस्पतालहरूमा लैजाने गरेका छन् । खासगरी हृदयघात, पक्षघात र सवारी दुर्घटनाका शिकार बिरामीहरूबाट अस्पतालले बढी मुनाफा कमाउने हुँदा एम्बुलेन्स चालकहरूले यस्ता बिरामीहरूको हकमा आफ्नो कमिशनलाई प्राथमिकतामा राखेर काम गर्छन् । कटेज रेस्टुराँका युवतीहरूले आफूलाई आकर्षक देखाएर ग्राहकहरूलाई ठगेर कमिशन खाएजस्तो बिरामीहरूलाई अनुकूलको अस्पतालमा पु-याएर एम्बुलेन्स चालकहरूले आफ्नो कमिशन पकाउने र अस्पतालले पनि त्यस्ता बिरामीहरूबाट मनग्गे कमाउँदै आएका छन् । यस अर्थमा स्वास्थ्य सेवा नभएर अहिले व्यापार बनेको छ र यो व्यापारमा लागेर कमाउने व्यापारीहरूको सङ्ख्या बढ्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here