प्रस, रौतहट, २५ माघ/
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकार ढालिएका कारण नदी नियन्त्रण तथा लालबकैया नियन्त्रण हुन नसकेको बताएका छन् ।

नेकपा एमाले रौतहट जिल्ला अधिवेशनको बिहीवार गरुडामा उद्घाटन गर्दै अध्यक्ष ओलीले रौतहटका जनता सधैं पीडामा रहने, नदी नियन्त्रण नहुने, लालबकैयाबाट पीडित हुने जस्ता समस्यालाई समाधान गर्न एमाले लागेको तर एमाले सरकार ढलेसँगै यी कार्यहरू अलपत्र परेको बताए ।

मधेसको विकास गर्न खेतीयोग्य जमीनलाई सिञ्चित गर्न सुनकोशी मरिन डाइभर्सन शिलान्यास गरेको र सो योजनाबाट एक लाख ८५ हजार बिघा खेतीयोग्य जमीन सिञ्चित हुने लक्ष्य रहेको बताउँदै योजना पूरा भएमा रौतहट, बारा, पर्सा, सर्लाही, सिराहासमेतका जिल्लाहरूमा सिंचाइको असुविधा टर्ने बताए । उनले रौतहट जिल्ला आफूले कहिल्यै नबिर्सने जिल्ला भएको बताए । यही जिल्लाबाट ५० वर्ष पहिले २०३० सालमा पञ्चायती शासकहरूले आफूलाई पक्राउ गरेको र गरुडाबाट चन्द्रनिगाहपुर हुँदै वीरगंज कारागार चलान गरिएको स्मरण गरे ।

उनले गौर–चन्द्रपुर सडक, नदी नियन्त्रण, खानेपानी जस्ता कार्र्य पूरा गराउन मिसन ८४ लाई साथ दिन रौतहटवासीसँग आग्रह पनि गरे । उनले जनताको सरकार बनाउन, देशको सरकार बनाउन, जनताको आकाङ्क्षा पूरा गर्न एमालेको सरकार अपरिहार्य भएको बताए । उनले वर्तमान सरकारलाई निकम्मा भन्दै राम्रो काम नै गर्न नसकेको आरोप लगाए । सरकारमा रहँदा एमालेले गरेका विकास कार्यक्रममा अहिलेको सरकार अल्झेको बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसकेको र बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल पनि यो सरकारले चलाउन नसकेको दोषारोपण गरे । उनले मधेसका नेताहरूमा विनम्रता नहुने जस्ता अहम्ले जरो गाडेको बताउँदै अहम्लाई त्यागेर विनम्र शैलीमा विचार व्यवहार जनतासँग गर्न आग्रह गरे ।

उनले माधवकुमार नेपाल बढी जान्ने भएर पार्टीविरोधी तत्वको पछि हिंडेको आरोप लगाए । उनले १५ वर्षसम्म पार्टी प्रमुख भएर काम गरेका नेपालले एमालेरूपी विशाल घरलाई भत्काएर नेपाली काङ्ग्रेसको पुच्छर बनेको आरोप लगाए । उनले नेपाल नेतृत्वको पार्टी स्वतन्त्र पार्टी हो, निर्वाचनले त्यो परिणाम देखाइसकेको छ र आगामी दिनमा गठबन्धनबाट बाहिरिएसँगै अस्तित्व मेटिने दाबी गरे । उनले नेता नेपाललाई आगामी चुनावमा नजिताउन रौतहटको जनतासँग आग्रह गरे ।

सचिदानन्द साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा एमालेका सचिव योगेश भट्टराई, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, रौतहट इन्चार्ज पुरुषोतम पौडेल, केन्द्रीय सदस्य अजय गुप्ता, पूर्वसांसद रेखा झा, मधेस प्रदेश सचिव आरती भण्डारीलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत रामजी साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here