प्रस, परवानीपुर, २५ माघ/
पर्सामा नकारात्मक टीकाटिप्पणी र आलोचना हुने पालिकामध्ये पकाहामैनपुर गाउँपालिकालाई पनि लिइन्छ । कुनै काम सही प्रणालीबाट चल्दैन, आर्थिक अनियमितता, कमिशनतन्त्र, कुशासन हाबी भएको, राम्रोभन्दा हाम्रोलाई चुन्ने परिपाटीलगायतका कार्यमा सो पालिकाका जनप्रतिनिधिमाथि पटकपटक आरोप लाग्ने गरेको छ ।
तर दुई महीनायता गाउँपालिकाका गतिविधि सही प्रणालीमा हिंडिरहेको पालिकावासीले महसूस गर्न थालेका छन् । केही दिन अघि मात्रै सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीलाई पकहामैनपुर धोरेका युवाहरूको समूहले सम्मानितसमेत गरेको छ । प्रप्रअ चौधरीले आफू आएसँगै गापाका प्रशासनिक कार्यलाई नियमसङ्गतरूपमा गरिरहेको त्यहाँका युवाहरूले भन्न थालेका छन् । प्रप्रअ चौधरीले दुई महीना अवधिमा गरेका राम्रा कामको प्रशंसा गर्दै एमाले पकहामैनपुर गापानिकट युवा समूहले सम्मानित पनि गरेको छ ।
चौधरीले सो गापाको प्रप्रअको जिम्मेवारी सम्हालेपछि पकाहामैनपुर माविमा निर्माण कार्यका सबै गोप्य टेन्डरबदर गर्दै खुल्ला प्रतिस्पर्धाबाट निर्माण कार्य गराउन पुनः टेन्डर गरिएका छन् । पालिकामा ४१ जनाले पाएको अनधिकृत नियुक्तिलाई बदर गर्दै खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी नियुक्त हुन थालेका छन् । शिक्षक, स्वास्थ्यकर्मी नियुक्तिको लागि खुल्ला प्रतिस्पर्धामा उत्कृष्ट गर्नेलाई ग्राहयता दिइएको छ । त्यसैगरी, चालू आव २०८०/८१ को विशेष गाउँसभाबाट योजना तथा बजेट पारित गराइ जनप्रतिनिधिहरूले पाउने सेवासुविधासमेत टुङ्गो लगाउनुका साथै विकास निर्माण र बजेट सञ्चालनमा आएको छ ।