दिनेश मिश्र, वीरगंज २४ माघ /
पर्सा जिल्लाका निर्वाचित उपप्रमुखहरूको बैठक सखुवाप्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । न्यायिक समितिको प्रभावकारी सञ्चालन, त्यसका बाधा र चुनौती, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय सम्बन्धमा बैठकमा छलफल भएको थियो ।

विगत केही दिनदेखि पालिकामा प्रमुखहरूबाटै उपप्रमुखहरू अपहेलित भएका गुनासा आइरहेकाले सबै पालिकाका उपप्रमुख मिलेर कात्तिक १७ गते उपप्रमुख क्लब गठन गरेका थिए । मधेस प्रदेशमा पहिलोपटक उपप्रमुख क्लब गठन भएको हो ।

प्रायःजसो पालिकामा उपप्रमुखलाई प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मूल्याङ्कन नगरेको गुनासो बैठकमा उठेको थियो । उपप्रमुखहरूको लागि छुट्याएको बजेट प्रमुख प्रशासकीय अधिकृतले नसोधी चलाएको बैठकमा चर्चा भएको थियो । बैठकमा सहभागीहरूले प्रमुख निर्वाचित भएसरह नै उपप्रमुख निर्वाचित भएकाले भेदभाव हुनु दुःखद भएको विन्ध्यवासिनी गापाकी उपप्रमुख ज्योति चौरसियाले बताइन् ।

पटेर्वासुगौलीकी उपप्रमुख ममता महतोको अध्यक्षतामा भएको बैठकमा उपप्रमुखहरू ठोरीकी गोकुली रेग्मी, सखुवाप्रसौनीकी शर्मिला विष्ट, बहुदरमाईकी सुषमा कुशवाहा, पोखरियाकी रूबी ठाकुर, जीराभवानीकी रेखा चौधरी, पकाहामैनपुरकी सरफुना नेसा, कालिकामाईकी राजमती बरइन, सखुवाप्रसौनी गापाका अध्यक्ष यशवन्त यादव, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here