प्रस, निजगढ, २४ माघ/
निजगढ नगरपालिकास्थित बकैया खोला नदीजन्य पदार्थको उत्खननको शैली हेर्न हिजो मङ्गलवार दिउँसो सुुरक्षा बलसहित आकस्मिकरूपमा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले खोलामा ठूलाठूुला खाडल मात्रै भेटिएपछि तीन छक्क परे ।

उनले घटनास्थलको दृश्य हेरेर भने– खाडल छ, तर खाडल पार्ने एक्साभेटर मेशीन र मजदुर छैनन् । आफू अनुगमनमा आएको सूचना चुहिएको कारण एक्साभेटर र मजदूरहरूलाई हटाउने काम भएको उनको बुझाइ छ । माघ ३ गते जिम्मेवारी सम्हालेका प्रजिअ घिमिरेलाई स्थानीय तहहरूले ठेक्कालगायत विभिन्न नाउँमा नदीजन्य पदार्थको अचाक्ली उत्खनन, दोहन हुुने गरेको जानकारी गराएका थिए । स्थानीय तहका गुनासोपछि नदीजन्य पदार्थ मापदण्डविपरीत उत्खनन, दोहन, ओसारपोसार, सङ्कलन भइरहेका बारेमा कडाइ गर्न हिजो प्रजिअ घिमिरे सुरक्षाबलका साथ बकैया खोलाको अनुगमनमा निस्केका थिए । खोलामा भर्खरै उत्खनन गरिएको कारण भएका ठूलाठूला खाडलहरू देखाउँदै प्रजिअ घिमिरेले निजगढ नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अजय बर्तौलासँग सोधे– खाडल छ तर खाडल पार्ने मेशीन र मजदूरहरू कहाँ भागे ? उनले खोलाको ठेक्का लगाउन ढिला गर्ने अनि गैरकानूनीरूपमा हुने उत्खननलाई प्रोत्साहन नगर्न प्रमुख प्रशासकीय अधिकृत बर्ताैलाई सुझाए ।

प्रजिअ अनुगमनमा आएको सुनेर खोलामा पुगेका नगरप्रमुख सुरथ पुरीलाई पनि प्रजिअ घिमिरेले नदीजन्य पदार्थको ठेक्का, उत्खनन प्रक्रियाबारे जानकारी लिंदै अवैध उत्खननलाई प्रोत्साहन नगर्न सुझाएका थिए । बकैया खोलाबारेमा प्रजिअले चासो देखाए पनि अर्काे साइट निजगढ नपा–४ कछडियास्थित चाइनिज क्याम्प, खोलाबगर आसपासमा अवैधरूपमा थुुपारिएका ढुुङ्गाबारेमा उनलाई जानकारी नभएकोले त्यहाँ अनुगमन गर्न नसकिएको अनुगमन समितिका एकजना सदस्यले बताए ।

निजगढ नपा–४ कछडिया र वडा नं ९ मा रहेका आठवटा क्रसर उद्योगमा हाल ८५ लाख ७६ हजार ७७६.५० क्यूफिट नदीजन्य पदार्थ मौज्जाद रहेको निजगढ नपाका इन्जिनीयरसहितको प्राविधिक टोलीले गत साउन ११ गते गरेको अनुगमन प्रतिवेदनमा उल्लेख छ । सो मौज्दात बढीमा तीन महीनामा सकिए पनि अहिलेसम्म सो स्थानमा उत्तिकै नदीजन्य पदार्थ मौज्दात छ ।

हिजो प्रजिअसँगको अनुुगमनमा जिल्ला समन्वय समिति बाराकी उपाध्यक्ष चण्डिका उप्रेती सहभागी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here