अहिलेसम्म अमेजनले स्मार्टफोन, फ्रिज, एसी, टेलिभिजन, ल्यापटप, कूलरलाई होम डेलिभरी गरेको हामीले देखे–सुनेका छौं तर अब अमेजनले घर पनि बेच्दैछ र त्यो पनि होम डेलिभरी गर्दैछ । सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा एउटा भिडियो भाइरल भएको छ, जसमा अमेजनले घरको होम डेलिभरी गरेको देखाइएको छ ।
एक्सका प्रयोगकर्ताले जारी गरेको भिडियोमा होम डेलिभरी भएको घरलाई एकजना व्यक्तिले अनबक्सिङ गरेका छन् । एउटा ठूलो कार्टुनको बाकसमा एउटा घर राखिएको छ र त्यो बाकस खोलेर व्यक्तिले घरलाई विभिन्न भागमा एसेम्बल गर्छन् । यो भिडियो हेर्ने धेरैजना चकित भएका छन् । किनभने अब जग्गा भएपछि घर अमेजनबाटै किनेर होम डेलिभरी गर्न सकिन्छ ।
अमेजनबाट डेलिभरी भएको यस घरको मूल्य १९ हजार डलर पर्छ । यस घरमा रेडिमेड भान्सा, शयनकक्ष र बैठक कोठा छन् । यो घरलाई आधुनिक तरीकाबाट डिजाइन गरिएको छ । घर स्टीलले बनाइएको छ र यसमा इँटा, सिमेन्ट र छडको प्रयोग गरिएको छैन । भिडियो हेरेर धेरैले प्रतिक्रिया जाहेर गर्दै यो घर कुनै अपार्टमेन्टभन्दा निकै राम्रो भएको बताएका छन् ।