क्वेटा, पाकिस्तान, २४ माघ/एएफपी
दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालयबाहिर बुधवार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

क्वेटा शहरबाट करीब ५० किलोमिटर टाढा र अफगानिस्तानसँगको सीमाबाट करीब १०० किलोमिटर टाढा रहेको पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयनजीकै आक्रमण भएको थियो ।

क्वेटाका एक प्रहरी अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “१२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।”

“प्रारम्भिक अनुसन्धानले मोटरसाइकलमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको देखिएको छ,” उनले भने ।

प्रान्तका कार्यवाहक सूचनामन्त्री जान अचकजाईले मृतकको सङ्ख्या पुष्टि गर्दै भने, “यो विस्फोटमा १२ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढी घाइते भएका छन् ।”

निर्वाचनका लागि ५० लाखभन्दा बढी सुरक्षाकर्मी बुधवारदेखि तैनाथ हुन थालेका छन् भने ९० हजारभन्दा बढी मतदान केन्द्रमा मतपत्र वितरण गरिएको छ ।

सन् २०१८ को चुनावपछि स्थापित बहुमतको सरकारका प्रधानमन्त्री इमरान खानलाई चार वर्षपछि अविश्वासको प्रस्तावमार्पmत सत्ताबाट पदच्युत गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्रीबाट हटाइएका र हाल जेलमा रहेका पूर्वप्रधानमन्त्री खानको पार्टी तथा नेताहरूलाई विभिन्न अभियोग लगाउँँदै निर्वाचनमा सहभागी हुनबाट रोक लगाइएको छ ।

बिहीवारको मतदानको दौरान धेरै सुरक्षा घटनाहरू पनि भएका छन्, जसमा कम्तीमा दुईजना उम्मेदवारको गोली हानी हत्या भएकोे छ र दर्जनौंलाई देशभरि आक्रमणहरूमा निशाना बनाइएको छ ।

स्थानीय समय अनुसार बिहीवार बिहान ८ बजे मतदान शुरू भई साँझ ५ बजे मतदान सम्पन्न हुनेछ । लाहोरमा निर्वाचन अधिकारीहरूको एक समूहले प्रहरीको साथमा मतदान सामग्री रहेका बोराहरू केन्द्रीय वितरण केन्द्रबाट उनीहरूको मतदान केन्द्रहरूमा लैजानको लागि सङ्कलन गरेको देखिएको थियो ।

“निर्वाचन आयोगले आफ्नो एप स्थापना गरेको छ र अन्य निर्वाचनलाई व्यवस्थित गर्न उपायहरू अपनाएको छ,” मतदान सामग्री सङ्कलन गर्ने इलेक्ट्रोनिक जाँचलाई सङ्केत गर्दै मोहम्मद बकिरले भने, “काम सहजरूपमा भइरहेको छ ।”

करीब २४ करोड जनसङ्ख्या भएको विश्वको पाँचौं ठूलो देशमा करीब १२ करोड ८० लाख मतदाताले मतदान गर्न पाउनेछन् ।

राष्ट्रिय र चारवटा प्रान्तीयसभाका लागि करीब १८ हजार उम्मेदवार चुनावी मैदानमा छन्, जसमा २६६ सिटमा प्रत्यक्ष प्रतिस्पर्धा भएको छ । यसमध्ये महिला र अल्पसङ्ख्यकका लागि थप ७० र क्षेत्रीय संसद्मा ७४९ स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

सिन्ध प्रान्तका प्रहरी प्रमुख रफत मुख्तारले बुधवार कराँचीमा आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले हरेक तहमा सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्छ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here