प्रस, वीरगंज, २३ माघ/
वीरगंज महानगर–३२ चोर्नीमा सञ्चालित जगदम्बा कङ्क्रिटो प्रालिले सार्वजनिक जग्गा मिचेको मुद्दामा पर्सा जिल्ला अदालतले नापी कार्यालय र मालपोतसँग जवाफ मागेको छ ।

अदालतले साबिक कित्ता नं १२१, १२२ र ११६ को जग्गा नयाँ नापी हुँदा कुन कुन कित्ता कायम भएको र सोको साबिक तथा हालको जग्गाको क्षेत्रफल यकीन गरी पठाउन नापी र भूमिसुधार तथा मालपोत कार्यालयको नाममा आदेश जारी गरेको छ ।

जगदम्बा कङ्क्रिटोले जग्गा खरीद गर्ने क्रममा टायल चेक गराउँदा कित्ता नं १२१, १२२ र ११६ को सरकारी ऐलानी जग्गामध्ये साढे तीन बिघा आफ्नो नाममा गरेको आरोप छ । यस कार्यविरुद्ध हेटौंडाका अविनाश लामाले पर्सा जिल्ला अदालतमा मुद्दा दिएको र सोही मुद्दाको हकमा अदालतले हिजो नापी र मालपोतको नाममा आदेश जारी गरेको हो ।

न्यायाधीश धु्रवराज त्रिपाठीको एकल इजलासले मुद्दा पुरानो भएको र यस सन्दर्भमा माग गरिएका वस्तु नापी र भूमिसुधार तथा मालपोतलाई अविलम्ब उपलब्ध गराउन आदेश गरेको छ । न्यायाधीश त्रिपाठीले गरेको आदेशमा जगदम्बा कङ्क्रिटोले जग्गाको हालसाबिक गर्दा पेश गरेका दसी प्रमाणहरू पनि सम्बन्धित कार्यालयलाई उपलब्ध गराउन आदेश जारी गरेको छ । साथै उक्त ऐलानी जग्गाको हाल कुन कुन कित्ता नम्बर कायम भएको, ककसको नाममा दर्ता भएको सोको विवरण तथा साबिक कित्ता नं १२१, १२२, ११६ र कित्ता नं ८ को साबिक नक्शाबमोजिमको टे«स नक्शा र उक्त जग्गा हाल कायम भएको नक्शाको टे«स नक्शा ओभरल्यापिङ गरी बनाइ पठाउनसमेत आदेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here