प्रस, सिम्रौनगढ, २३ माघ/
सिम्रौनगढ नगरपालिकाको विशेष नगरसभा बस्न नसक्दा कर्मचारीहरूले अहिलेसम्म तलब खान पाएका छैनन् । माघ २० गते शनिवार जिल्ला प्रशासन कार्यालय, बारामा बसेको बैठकले पाँच दिनभित्र विशेष नगरसभा सम्पन्न गर्न सहमति जुटेको थियो ।
आज सहमतिको चौथो दिन बितिसक्दा पनि विशेष नगरसभाको तयारी पूरा भएको छैन । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको अगुवाइमा बसेको बैठकमा सांसद अच्युत मैनाली, पूर्वसांसद रामबाबू यादव, जिसस बाराका अध्यक्ष नरेन्द्रकुमार साह, पूर्वनगरप्रमुख विजयशङ्कर यादव र नगरप्रमुख किशोरी कलवार सहभागी थिए ।
उनीहरूबीच विशेष नगरसभा पाँच दिनभित्र गर्ने सहमति भएको थियो । यसअघि पुसको पहिलो सातामा यसै विषयलाई लिएर बसेको बैठकले पुस १५ गतेभित्र नगरसभा गरेर कर्मचारीहरूलाई तलब दिने सहमति गरेको थियो ।
सहमतिपछि बन्द अस्पताल, वडा कार्यालय, शिक्षण संस्थाहरू सञ्चालनमा आए पनि त्यहाँ कार्यरत कर्मचारीहरूले भने अहिलेसम्म तलब पाएका छैनन् ।