प्रस, वीरगंज, २३ माघ/
सखुवाप्रसौनी गाउँपालिका–२ स्थित दीपनारायण आदर्श माविमा अनियमितता भएको आरोप छ ।
स्थानीय अभिभावक विनोद दहैत थारूले जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ वीरगंजमा उजूरी गर्दै विद्यालयमा भएको अनियमितताविरुद्ध छानबीन गर्न माग गरेका छन् । उनले विद्यालय व्यवस्थापन समितिको अवधि सकिए पनि गठन नभएको, मावि तहसम्म शिक्षा निश्शुल्क भएपनि विद्यालयले शुल्क लिने गरेको, विद्यालय भवन निर्माण र दिवाखाजा शीर्षकमा अनियमितता भएको, विद्यार्थीको चाप अनुसार शिक्षक दरबन्दी नगरिएको, अन्यत्रबाट सरुवा भएर आएका मावि शिक्षकलाई गापाले हाजिरी नगराएको, अनधिकृतरूपमा शिक्षक भर्ना गरिएको आरोप लगाएका छन् ।

यसैगरी, विद्यालयका प्रधानाध्यापक राजनीतिक गतिविधिमा बढी र विद्यालयको गतिविधिमा कम सक्रिय हुने गरेका कारण विद्यालयमा प्रायः अनुपस्थित हुने र त्यसबाट पठनपाठनबाट समस्या भइरहेको थारूले आरोप लगाएका छन् । उनले निजी स्रोतका शिक्षकहरूलाई निर्णय अनुसार पारिश्रमिक भुक्तान नगरेको, करारमा शिक्षकहरू नियुक्ति गर्ने सूचना गत वर्ष प्रकाशित गरिएकामा उनीहरूलाई एक वर्षसम्म काममा नराखिएको र अहिले आएर पुनः सूचना प्रकाशित गरेर भर्ना गर्दा तोकिएको भन्दा एकजना शिक्षक बढी भर्ना गर्न नतीजा प्रकाशित गरेको भन्दै यी सबै बेथितिविरुद्ध छानबीन गरी कारबाई गर्न माग गरेका छन् ।

शिक्षा शाखा प्रमुख नेपालेन्दु साहले विद्यालय व्यवस्थापन समिति गठनका लागि हालै मात्र अभिभावक भेला गरेको तर गणपूरक सङ्ख्या नपुग्दा फागुनको पहिलो सातामा गर्नेगरी सारिएको बताए । उनले सो अवधिमा पनि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेमा तदर्थ समिति गठन गर्न सकिने बताए । उनले विद्यालयमा आर्थिक चलखेलका कुनै पनि गतिविधि नभएको तर प्रक्रियागतरूपमा ढिला भएको भने स्वीकारे । उनले शिक्ष्Fक भर्नामा आर्थिक चलखेल नभएको र मावि तहमा पाँचजना शिक्षक भर्ना गर्न र एकजना वैकल्पिक घोषणा कार्यमा त्रुटि मात्र भएको बताए । दिवाखाजाको नियमित अनुगमन गर्न नसकिए पनि बेलाबेलामा अनुगमन गरिएको र खाजा खुवाइरहेको पाइएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here