ओमप्रकाश चौधरी, सेढवा, २२ माघ/
पर्सा जिल्लाका किसानहरूले अहिले गहुँबालीको लागि पनि मलको अभाव झेल्नुपरेको छ । गहुँबालीको लागि अहिले अन्तिमपटक मल छर्ने बेलामा पनि किसानहरूले मलको अभाव झेलिरहेका छन् । किसानहरूले भारतीय बजारबाट मलको अभाव पूरा गरिरहेका छन् ।
अहिले गहुँबालीको लागि युरिया मल आवश्यक पर्ने जीराभवानी गाउँपालिका–२ का किसान रामरित चौधरी बताउँछन् । गहुँको बाला (गभलेणा) उम्रने बेलामा अन्तिमपटक युरिया मल प्रतिकट्ठा दुई किलोको दरले छर्नुपर्ने उनले बताए । तर अहिले स्थानीय सहकारीहरूमा मल अभाव रहेको र सीमापारि भारतबाट मल ल्याउनुपरेको बताए ।
गहुँबालीको लागि शुरूमा बीउ छर्दा प्रतिकट्ठा तीन किलो डिएपी र डेढ/डेढ किलो युरिया र पोटास आवश्यक पर्ने र त्यसको एक महीनापछि प्रतिकट्ठा दुई किलोको दरले युरिया गहुँबालीमा छर्दै आएको किसान चौधरीले बताए । तीनपटक मल आवश्यक भएको बेलामा यस वर्ष पनि नेपाली किसानहरूले मलको अभाव झेल्नुपरेको उनले बताए ।
भारतमा ४५ किलो बोराको युरिया मल रु सात सयमा पाइन्छ । किसानहरूलाई एक–दुई बोरासम्म मल दुवैतर्फका सीमामा खटेका सुरक्षाकर्मीहरूले ल्याउन दिइरहेका छन् । यसैको फाइदा उठाएर केही व्यापारीहरूले दुई–चार बोराको सङ्ख्यामा साइकलमार्फत ढुवानी गर्ने र ग्रामीण भेगमा महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
जगरनाथपुर गापा–३ का गिरजा महरा चमारले भारतबाट सस्तो मूल्यमा मल ल्याएर व्यापारीहरूले महँगोमा किसानहरूलाई बिक्री गरिरहेका बताए । उनले नेपालमा ५० किलो बोराको युरिया रु ९५० मा बिक्री हुँदै आएकोमा भारतबाट ल्याइएको ४५ किलोको बोरा एक हजारसम्ममा बिक्री हुने गरेको बताए । अहिले जिल्लाका अधिकांश व्यापारीले किसानको नाममा भारतबाट मल ल्याउने र महँगोमा बिक्री गरिरहेका छन् । यसतर्फ स्थानीय पालिका र सुरक्षाकर्मीहरूले ध्यान दिन सकेका छैनन् । विशुद्ध किसानहरूको लागि भारत र नेपालका सुरक्षाकर्मीहरूले एक–दुई बोरा मल ल्याउन छुट दिएकामा सोको फाइदा व्यापारीहरूले उठाउनु गलत भएको उनले बताए ।