मध्यविन्दु (नवलपरासी) २२ माघ/रासस
नारायणी नदीमा पहिलोपटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकूद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा आयोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनी पहिलो भएका हुन् ।
डम्बरबहादुरले सात किलोमिटरको दूरी ३५ मिनेट ३८ सेकेन्डमा पूरा गरे । यस्तै, गोर्खाका दीपेश रानामगर निर्धारित दूरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रो भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेन्डमा दूरी पार गरी तेस्रो भएका गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए । प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे ।
आगामी वर्ष असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने प्रशिक्षक नीमबहादुर मगरले बताए । नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी रहेको उनको भनाइ छ । डुङ्गामा एकजना मात्र बस्न मिल्नेगरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्छ ।