महोत्तरी, २२ माघ/रासस
सडक दुर्घटनामा हुने मानवीय क्षतिको सङ्ख्या बर्सेनि बढ्दै छ । आर्थिक वर्ष २०८०/८१ का बितेका छ महीनामा मधेसमा सडक दुर्घटनामा परी २५५ जनाले ज्यान गुमाएका थिए । सो अवधिमा भएका साना तथा ठूला चार हजार ४७७ सडक दुर्घटनामा पाँच हजार ६६ जना घाइते भएका बाराको पथलैयास्थित मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोही अवधिमा सडक दुर्घटनामा परी महोत्तरीका ३१ जनाले ज्यान गुमाएका थिए । जिल्लाका विभिन्न स्थानमा भएका २६५ वटा सडक दुर्घटनामा अङ्गभङ्ग भई घाइते हुने ३२५ पुगेकामा ८४ जना त सख्त घाइते भई अझै सकसपूर्ण अवस्थामा रहेका महोत्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामभक्त भट्टराईले बताए ।
सडक दुर्घटनामा ज्यान जाने र घाइते हुनेमा बढीजसो ३० वर्षमुनिका युवा रहेका र तीमध्ये धेरैजसो मोटरसाइकल दुर्घटनामा परेका उनको भनाइ थियो । सवारीसाधन चलाउने दक्षता र सोसम्बन्धी अनुमतिपत्रबेगर नै मोटरसाइकल चलाउने बढी दुर्घटनामा परेका ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ । विशेषगरी युवा उमेरका मोटरसाइकल चालकले मादकपदार्थ सेवन गरेर द्रुतगतिमा सवारीसाधन चलाउँदा दुर्घटना बढी भएका देखिएको प्रमुख भट्टराईको भनाइ थियो ।
“हामीले निरन्तर जाँच गर्ने, कारबाई गरी जरिवाना तिराउने र अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” उनले भने, “तर दुर्घटना न्यूनीकरण भएका छैनन् ।” जाडोयाममा बाटो नदेखिने गरी लाग्ने बाक्लो हुस्सु पनि दुर्घटनाका कारण रहेको ट्राफिक प्रहरीको भनाइ थियो । महोत्तरीमा बितेका छ महीनामा कुल २३ हजार ३४८ सवारीसाधन कारबाईमा परेकामा सबैभन्दा बढी १२ हजार ५२८ मोटरसाइकल परेका थिए ।
यसैगरी, चार हजार ८२८ कार तथा जीप र चार हजार ९८ ट्रक कारबाईमा परेकामा तिनबाट रु एक करोड ९१ लाख ९६ हजार पाँच सय जरिवाना असुल गरिएको थियो ।