पेशावर, २२ माघ/एएफपी
उत्तरी पाकिस्तानको एउटा प्रहरी चौकीमा सोमवार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् ।
पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिन अघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौं आक्रमण भइसकेका छन् ।
“चौकीमा ३० जनाभन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेका थिए । खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले एएफपीसँग भने–“साढे दुर्ई घण्टाभन्दा बढी सशस्त्र झडप भएको उक्त घटनामा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् ।”
उनले डेरा इस्माइल खान जिल्लाको चौधवान प्रहरी चौकीमा भएको आक्रमणमा अन्य चार सुरक्षाकर्मी घाइते भएका जानकारी दिए ।
खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा वर्षाैंदेखि पाकिस्तानी तालिबान, इस्लामिक स्टेट र अन्य समूहले सरकार र सुरक्षा लक्ष्यमा आक्रमण गर्नुका साथै सर्वसाधारणलाई लक्ष्य बनाउने गरेका छन् ।
गण्डापुरको स्थानीय प्रशासनले एएफपीलाई बताए अनुसार आक्रमणकारीहरूले सोमवार बिहान आक्रमणको क्रममा केही समयका लागि प्रहरी चौकी नियन्त्रणमा लिएका थिए ।
गत हप्ता पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रमा रहेको एक सरकारी भवन परिसरमा बलोच पृथकतावादी समूहले लुकीछिपी आक्रमण गरेपछि भएको घटनामा २४ जना लडाकू मारिएको सेनाले जनाएको थियो ।
आक्रमण र त्यसपछिको खोजी कारबाईमा चार सुरक्षाकर्मी र दुर्ई सर्वसाधारणको मृत्यु भएको थियो ।
प्रतिबन्धित बलोच पृथकतावादी समूह बलुचिस्तान लिबरेशन आर्मी (बिएलए) ले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको जिम्मेवारी लिएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले गत हप्ता खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतदान हुने बताएको थियो । हिंसा भड्किएपछि सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक गरी निर्वाचन कार्यक्रम यथावत् रहने बताएको थियो । मतदाताको सुरक्षाका लागि देशभर हजारौं सुरक्षाकर्मी परिचालन गरिने सरकारले जनाएको छ । रासस