प्रस, वीरगंज, २१ माघ/
सरकारी जग्गा किर्ते गरी मिचेको अभियोगमा देशकै चर्चित उद्योगपतिहरू कानूनको दायरामा आइरहेको अवस्थामा वीरगंजमा पनि एउटा यस्तै घटना प्रकाशमा आएको छ ।

वीरगंज महानगर–३२ चोर्नीस्थित जगदम्बा कङ्क्रिटो प्रालिले करोडौं मूल्य बराबरको करीब साढे तीन बिघा जग्गा मिचेको फिराद दाबी छ । विभिन्न कित्ताको जग्गा आप्mनो जग्गामा राखेर दर्ता गराइ सो जग्गा मिचिएको दाबी छ । यसै विषयमा पर्सा जिल्ला अदालतमा २०७६/१/२५ गते क्षेत्रफल संशोधन टिप्पणी आदेश श्रेस्ता बदर तथा सरकारी टायल चेक श्रेस्ता कायम गरी निजी कम्पनीले बनाएको भौतिक संरचनासमेत भत्काइ पाऊ’ भन्ने देवानी मुद्दा परेको छ ।

हेटौंडा–८ बस्ने ३१ वर्षीय अविनाश लामाले जगदम्बा कङ्क्रिटो प्रालि, काठमाडौं–२५ बस्ने वर्ष ५५ का वीरेन्द्रकुमार सङ्घाई, कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ६२ वर्षीय तेजीलाल प्रसादलाई विपक्षी बनाएर उनले फिरादपत्र दर्ता गराएका छन् ।

शङ्कर ग्रुप अन्तर्गतको जगदम्बा कङ्क्रिटो प्रालिका सञ्चालक अङ्कित अग्रवालसमेतको मिलेमतोमा सो उद्योगले साबिक चोर्नी वडा नं ७ हालको वीरगंज–३२ साबिक कित्ता नं १२१, १२२, ११६ को सरकारी पर्ती जग्गामध्येको साढे तीन बिघा जग्गा मिचेको छ । १२१ कित्ता नम्बरबाट कम्पनीको स्वामित्वमा रहेको कित्ता नं ६० मा ८४२० वर्गमिटर, कित्ता नं ५० मा १७६० वर्गमिटर र कित्ता नं ६७ को २२१० वर्गमिटर राखेर क्ष्Fेत्रफल बढाइएको छ । त्यसैगरी, १२२ मध्ये करीब १४ कट्ठा कित्ता नं ८ मा घुसाइएको छ । त्यसैगरी, कित्ता नं ११६ को जग्गामध्ये कित्ता नं १११ मा ११२० वर्गमिटर घुसाइएको छ ।

नापी कार्यालय पर्साको प्लट रजिस्टर कित्ता नं १२१ साबिक क्षेत्रफल एक बिघा दुई कट्ठा, १२२ को एक बिघा तीन कट्ठा र ११६ को एक बिघा १३ कट्ठा रहेको थियो । जसमध्ये १२१ र १२२ को सम्पूर्ण जग्गा किर्ते गरी निजी बनाइएको छ भने ११६ मध्येको केही जग्गा हालको १३८ र १३९ कित्ता नम्बरमा पर्ती जग्गा छाडिएको छ ।

बारा, कलैया–१० मटिअर्वाका तेजीलाल प्रसादले साविक १११ मा सरकारी पर्ती जग्गामध्येबाट ५०९७ वर्गमिटर जग्गा थपेर हालको क्षेत्रफल ६५५५ बनाइ वीरेन्द्र सङ्घाईलाई बेचेका थिए । त्यसैले दुवैलाई विपक्षी बनाइएको छ ।

क्षेत्रफल बढाएमा कुनै फरक पर्दैन, फरक परेमा प्रचलित ऐन नियम बमोजिम बिगो दण्ड सजाय सहुला, बुझाउँला भनी सनाखत गरी क्षेत्रफल बढाएको देखिन्छ ।

नापी कार्यालय,पर्सा वीरगंजको च.नं. २०२६/२०७३–१२–२५ को पत्र, फिल्ड मुचुल्का प्रतिवेदन, एभरेस्ट बैंक लि.को सहमतिको आधारमा टायलचेक, क्षेत्रफल संशोधन गर्न मालपोत कार्यालय, पर्साबाट टिप्पणी आदेश खडा गरी २०७३/१२/२७ मा जग्गाको क्षेत्रफल बढाइएको छ ।

प्रतिवादीहरूले दिएको प्रतिउत्तरमा साबिक कित्ता नं १२१, १२२ र ११६ को साबिक सरकारी पर्ती जग्गा कहाँ छ भनी खुलाउन नसकेबाट सरकारी जग्गा उनीहरूले नै कब्जा गरेको अनुमान छ । सरकारी जग्गाको संरक्षण गर्नुपर्ने निकायले संरक्षण नगरेपछि हेटौंडाका नागरिकले मुद्दा दिनुपरेको लामाले बताए ।

सार्वजनिक सरोकारको विषय भएको हुनाले अदालतको अनुमति लिएर हेटौंडा निवासी लामाले मुद्दा दिएका हुन् । सरकारी सार्वजनिक जग्गा संरक्षणको लागि वीरगंजवासी जाग्नुपर्ने उनले सुझाव दिए । साबिक नक्शा र हालको नक्शा ओभरल्यापिङ ग-यो भने जग्गा मिचिएको प्रस्ट हुने नापी विज्ञहरू बताउँछन् । हालसम्म अदालतबाट नापनक्शाको लागि आदेश भएको छैन । अख्तियारमा उजूरी गर्दा पनि ठूलो कम्पनी भएकोले अख्तियार मौन छ । यसै मुद्दाको सम्बन्धमा माघ २२ गते पर्सा जिल्ला अदालतमा पेशी तोकिएको छ ।

कित्ता नं ६० को साबिक क्षेत्रफल ३४९६०.९५ वर्गमिटरबाट हाल बढेर ४१००२.५६ भएको छ भने कित्ता नं ५० को साबिक क्षेत्रफल ३२८६ वर्गमिटरबाट हाल बढेर ५११९ वर्गमिटर भएको छ । कित्ता नं ६७ को साबिक क्षेत्रफल १५३३ वर्गमिटर र कित्ता नं ४२ एकीकृत गर्दा ९३०४.१४ वर्गमिटर पुगेको नापी कार्यालयको कागजातमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here