प्रस, वीरगंज,२१ माघ ।
राष्ट्रिय एकता अभियान, पोखराले बिआरआई परियोजना मुलुकको लागि ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरेको छ ।
अभियानका केन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा ऋणमुक्त, स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतनामूलक -याली निकालेको हो ।
प्रदर्शनमा सहभागीहरूले पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गर, विमानस्थल पूर्णरूपले सञ्चालन गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, बिआरआई ऋणलाई अनुदानमा परिणत गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । पोखराको सभागृह अगाडिबाट शुरू भएको जुलुस नगर परिक्रमापछि पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रूपमा बढेको चिनियाँ सक्रियताले मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेको आरोप लगाए । उनले आर्थिक सहयोगको बहानामा चीनले नेपालमा सक्रियता बढाएको र यसले नेपाल र नेपाली जनताको भविष्य खतरामा परेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागि ठूलो ऋणजाल हुने बताए । पोखरा विमानस्थलमा देखिएको आर्थिक घाटापूर्तिको बहानामा चिनियाँ सेना पोखरामा ल्याउने ठूलो खेल भइरहेको आरोप लगाए ।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँग गरेको बिआरआई सम्झौता अविलम्ब खारेजीको माग गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन सुनील धामी र सञ्चालन शेरबहादुर विश्वकर्माले गरेका थिए ।