प्रस, वीरगंज, २० माघ/

नेकाका महामन्त्री एवं सांसद गगन थापाले मिसन ८४ ले आममानिसमा भ्रम सिर्जना गराएको बताएका छन्। शनिवार ‘समुदायमा जाऔं, नागरिकका कुरा सुनौं’ कार्यक्रम अन्तर्गत नेका पर्साले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मिसन ८४ अघि तीन वर्षमा पनि धेरै कुरा गर्नुपर्ने बताए। उनले मिसन ८४ भनेर तीन वर्ष चुप बस्ने सवाल आउँदैन, त्यो त हरूवाहरूको लागि कुरूवा–मन्त्र हो। हामी जितेकाहरूले अहिलेदेखि त्यतिखेरसम्म काम गरेर देखाउनुपर्ने अवसरमा भएको उनले बताए। उनले हुलाकी सडकखण्डको अहिलेसम्मको यात्रामा मधेसका मानिसको प्रमुख समस्या सिंचाइ, मलखाद, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास रहेको बताए। आपूmसहित अभियानमा लागेकाहरूले हुलाकी सडक यात्रापछि आम मानिसको चाहना के हो, उनीहरूले काङ्ग्रेससँग राखेका अपेक्षहरू के हुन भन्नेबारे पार्टीमा कुरा राखेर सोको समाधानका लागि पहल गर्ने आश्वासन दिए।

नेका पर्साका सभापति जनार्दन सिंह क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा राधेश्याम चौरसिया, प्रेमचन्द दुबे, रामनिवास यादव, हबीब मियाँ, ताज अन्सारी, कोपिला कँडेललगायतले पर्सा जिल्लावासीले भोग्दै आएका सिंचाइ, मलखाद, स्वास्थ्य र शिक्षा क्षेत्रका समस्या, पार्टीका जिम्मेवार नेताहरू र गठबन्धनमा रहेर गलत गरी नेकालाई पनि बदनाम गर्नेहरूबारे गुनासाहरू राखेका थिए। कार्यक्रममा केन्द्रीय सदस्य एवं सांसद अजय चौरसिया, संविधान सभासदस्य अनिल रुँगटा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, सांसद प्रतिमा गौतम, उपप्रमुख इम्तियाज आलम, दिलीपराज कार्कीलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण गापाध्यक्ष दिनेश चौधरीले गरेका थिए। महामन्त्री थापाले शनिवार बिहान वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, सदस्यहरूसँग पनि उद्योग व्यापारका समस्याबारे छलफल गरेका थिए। उनी आजै पोखरिया नगरपालिका र ठोरी गापाको कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। यस अघि हिजो राति कलैयामा महामन्त्री थापाले स्थानीय नेता, कार्यकर्ताहरूसंग संवाद गरेका थिए।

यस अघि महामन्त्री थापाले आज बिहान वीरगंज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको भेटघाट कार्यक्रममा उद्योग, व्यापार, कृषि विकासबाट मात्रै मुलुकको आर्थिक समुन्नति हुने कुरामा नेपाली काङ्ग्रेसले आफ्नो भूमिका केन्द्रित गर्दै आइरहेको बताएका थिए।

उनले मुलुकमा आयातको व्याप्त निराशा चिर्न आफू मेची–महाकाली यात्रामा रहेको बताए। उनले हाल देखिएका आर्थिक गतिहीनता, बढ्दो भ्रष्टाचार, सर्वसाधारणले पाउने सेवा सुविधामा ढिलासुस्तीलाई कसरी सहज बनाउने भनी पार्टीले गम्भीर गृहकार्य गरिरहेको बताए।

उनले अब आउने बजेटलाई कसरी उन्नत बनाउने, त्यसका लागि निजी क्षेत्रहरूको सुझाव सल्लाह अत्यन्तै महत्वपूर्ण हुने भएकोले विभिन्न क्षेत्रबाट आएका विषयगत उद्योग, व्यापार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा बजेट विनियोजन प्रक्रिया हिजो अस्तिको परम्परागत भन्दा फरक र सन्तुलित हुने बताए।

सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले मुलुक आर्थिक दृष्टिकोणले अत्यन्तै जटिल मोडमा रहेको र आर्थिक वृद्धि दर २ देखि ३ प्रतिशतको हाराहारीमा सीमित रहेको बताए। मुलुकको प्रमुख औद्योगिक करिडरहरू वीरगंज, विराटनगर, भैरहवामा अघोषित लोडसेडिङले उद्योगहरू क्षमताको २० देखि २५ प्रतिशतमा मात्र सञ्चालन भइरहेको जानकारी गराएका थिए।

नेपाल उद्योग वाणिज्य सङ्घका सदस्य सुबोध गुप्ताले वीरगंज क्षेत्रले राष्ट्रिय राजस्वमा झन्डै ५० प्रतिशत योगदान दिइरहेको तर यस क्षेत्रको आर्थिक महत्व र सामथ्र्यलाई राज्यले प्राथमिकतामा नलिएको गुनासोे पोखे। उनले नेपाली निजी क्षेत्रको आवाज अहिलेसम्म सिंहदरबारले सुनेजस्तो गरेपनि कार्यान्वयन तहमा खासै प्रगति नहुने गरेको बताए।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष माधवराज पाल, नेपाल औषधी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवालले देशको आर्थिक विकासका लागि अवलम्बन गर्नुपर्ने उदार आर्थिक ऐन, कानून, नीति, नियम बनाउँदा निजी क्षेत्रको सुझाव र सल्लाह अनुसार नभइरहेको र निजी क्षेत्रले लगानी गर्ने विषयगत क्षेत्रहरू अझै पनि स्पष्ट हुन नसकेको जिकीर गरे।

कार्यक्रममा नेकाका केन्द्रीय सदस्य एवं सांसद अजय चौरसिया, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, संविधानसभा सदस्य अनिल रूँगटा, नेका पर्साका सभापति जनार्दन सिंह क्षत्रीलगायतको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here