• राजेश मिश्र

गताङ्कको बाँकी …
अन्ततः किरिया नखाने कुरामा सबैजना एकमत भए । सञ्चारमाध्यमहरूमा समाचार आउन्जेल डेडिकेडेट फिडर र ट्रङ्कलाइन विवादको विषयमा चुप बस्ने उनीहरूबीच सहमति भयो । अनि यो प्रकरण ओझेल पार्न अन्य विषय उचाल्ने कुरामा एकमत भए । राजनीतिक सिद्धान्त फरकफरक भए तापनि लाभजन्य कार्यमा हैसियत र प्रभुत्व अनुसार लिने–खाने सहमति भयो । यो सहमति उनीहरूका लागि विजयोत्सवभन्दा कम थिएन । हाँसोजन्य ठहाकाले मन्दिरको प्राङ्गण गुन्जायमान भयो ।

उनीहरूले शिवलिङ्गमा जल अर्पण गरे । एकले अर्कालाई टीका र फूलको माला लगाइ खुशी व्यक्त गरे । अङ्कमाल गरे । अर्बौंको प्रकरणमा करोडौं आउने सपना देख्न थाले । कसैले छोरालाई अमेरिका पठाउने त कोही छोरीलाई चिकित्सक पढाउने त कोही शहरमा जग्गा त कोही घर बनाउने योजना बनाउन थाले । भाँतीभाँतीका मानसिकतामा थरीथरीका सपना अङ्कुरित हुन थाले ।

खुशी साटासाट गरिरहेको बेला भारी शरीरधारी एकजना नेताको जीउ अनियन्त्रित भयो । खुट्टा चिप्लियो । अर्का एकजनाको खुट्टामा ठोक्कियो । भुइँचालो आएझैं एकअर्कासँग ठोक्किंदै चार/पाँचजना भुइँमा लडे । कसैको खुट्टामा, कसैको शिरमा त कसैको पिठ्यूँमा चोट लाग्यो । माहोल शान्त र सन्नाटा छायो । एकाधजनाले सहानुभूति व्यक्त गर्दै अनिष्टको सङ्केतको रूपमा आकलन गरे । शान्त मुद्रामा मन्दिरभित्रबाट पाइला उचालेर चौकठ पारी नटेक्दै प्राङ्गणमा दृष्टि गयो, जहाँ असङ्ख्य सर्प थिए । केही घस्रिरहेका, केही श्वास तानिरहेका त केही कुण्डली मारेर मन्दिरतर्फ नियालिरहेका थिए । अघि सरेको पाइला तीव्र गतिमा पछि हट्यो । मन्दिरभित्र ठेलमठेल भयो ।

सर्पमा उनीहरूले यमराजको स्वरूप अनुभूत गरिरहेका थिए । भयले उनीहरू निश्वर भए । एकअर्काको पछाडि लुक्न थाले । सबैलाई आआफ्नै ज्यान प्यारो थियो । अहिले भगवान्बाहेक उनीहरूको मस्तिष्कमा अन्य कुनै प्रकारको विचार आइरहेको थिएन । अघिदेखि स्टन्टको रूपमा भइरहेको पूजा अहिले चरम भक्तिभावमा सराबोर थियो । उनीहरूले जीवनरक्षाको कामना गर्दै, “तुम्ही हो माता, तुम्ही पिता हो …” स्तुति गर्दै भगवान्लाई स्मरण गर्न थाले ।

सोही बेला ठूलो स्वरमा शब्दनाद भयो– “हे भक्त ! आत्तिनु पर्दैन । निस्कलङ्क व्यक्तिलाई सर्पहरूले केही गर्दैनन् । यद्यपि आचरण पापकर्ममा लिप्त छ भने सर्पहरूको कोपबाट बच्न असम्भव छ ।” आकाशवाणीले उनीहरूको अवस्था निल्नु न ओकल्नु भयो । अवस्था यस्तो भयो कि आफूलाई सर्वेसर्वा ठान्ने उनीहरूले ओहोदामा बसेर गरेका सत्कर्म र अधर्मबारे सोचमग्न भए । मगज जति खियाए पनि अधर्मको चाङले आकाश छोइरहेको थियो । यस्तो लाग्थ्यो कि एकले अर्काेसँग इशारामा सत्कर्मको सञ्चय र बच्ने सम्भावनाबारे सोधिरहेका छन् । दायाँ–बायाँ शिर हल्लाउनुबाहेक कसैसँग सुखद प्रतिउत्तर थिएन ।

त्यसै बेला घोर अँध्यारो छायो । चट्याङझैं आकाशमा गड्गडाहट हुन थाल्यो । केहीबेरपछि जब उनीहरूको आँखा खुले, तब आश्चर्यचकित भए । अहिले उनीहरू कैलाशनाथ महादेव, साँगाको प्राङ्गणमा थिए । त्यहाँ उनीहरूले दर्जनौं उद्योगपति ध्यानमग्न त्रिकालदर्शीको स्तुति गान गरिरहेका देखे ।

कथा नं ५

त्रिकालदर्शीले भन्नुभयो, “के हो यो ? एकले अर्कोमाथि दोषारोपण गरिरहेका छन् । विभिन्न शिवालयहरूमा भक्तजनहरूले आआफ्नै दुःखेसो पोखिरहेका छन् । आखिर चुरो कुरो के हो ?” आँखा बन्द गरी शान्त मुद्रामा ध्यानमग्न त्रिकालदर्शीले नारदमुनिलाई आह्वान गर्नुुभयो । तत्क्षण नारदमुनि प्रकट भए । त्रिकालदर्शीले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको विवादसम्बन्धी विवरण पेश गर्ने आदेश दिनुभयो ।

नारदमुनिले (१) विगतमा डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत विद्युत् आपूर्ति लिई सोबापतको विद्युत् महसूल भुक्तानी गर्न बाँकी भएको (२) उपभोक्ताहरूलाई विद्युत् वितरण विनियमावली, २०७८ बमोजिम बक्यौता महसूल बुझाउन पटकपटक पत्राचार गरिएको, (३) हालसम्म पनि बक्यौता महसूल नबुझाएको (४) प्राधिकरणले आवश्यक भएमा बक्यौता महसूल तिर्न विनियमावलीको विनियम २८ बमोजिम किस्ताबन्दीको सुविधासमेत प्राप्त गर्न सकिने प्रस्ट पारेको (५) तोकिएको समयावधिभित्र बक्यौता नबुझाए महसूल विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने प्राधिकरणले चेतावनी दिएकोलगायत अनेक विवरण त्रिकालदर्शीसमक्ष प्रस्तुत गरे ।

त्यसैगरी, नारदमुनिले मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था विनियमावलीमा उल्लेख रहेको अवगत गराए । उनले ट्रङ्कलाइन तथा डेडिकेटेड सेवा उपभोग गरेका कयौं उपभोक्ताहरूले बक्यौता रकम तिर्न मन्जुर नभई विभिन्न न्यायालयहरूमा रिट गरेका थिए । तर अदालतबाट त्यसमध्ये ८० प्रतिशतभन्दा बढी उपभोक्ताहरूको रिट खारेज गर्दै महसूल तिर्नुपर्ने फैसला भएका प्रमाणहरू पेश गरे ।

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नतिर्ने व्यवसायीको लाइन काट्ने तयारी गरेको नेपाल विद्युत् प्राधिकरणलाई उक्त देशको प्रधानमन्त्रीले नै रोकेका थिए । पछिल्लो समय गत पुसमा प्रधानमन्त्रीले लाइन काट्न निर्देशन दिए । निर्देशनलगत्तै मुलुकका चार ठूला उद्योगको लाइन काटिएको थियो । यद्यपि एकाध दिनपछि प्रधानमन्त्रीले पुनः लाइन जोड्ने आदेश दिए ।

नादरमुनिको प्रस्तुत विवरणले प्राङ्गणमा खैलाबैला मच्यो । अदृश्य प्राधिकरण वर्षौंदेखि अनुभूत गर्दै आइरहेको सत्ता र उद्योेगपतिहरूको खैलाबैला देखेर चकित थियो ।

यसै क्रममा नारदमुनिले केही महीनाको महसूल बाँकी हुने सर्वसाधारण जनताको लाइन काट्न खप्पिस प्राधिकरणले शक्ति र पहुँचको आधारमा कार्य गरिरहेको आमगुनासो अवगत गराए । उनले आफूले अनेक स्थानको भ्रमण गरेको र अनेकौं शिवालयहरूमा भक्तजनले प्राधिकरणको ज्यादतीबारे गुनासो पोखिरहेकोे बताए ।

उनले भने, “हे प्रभु ! नियमानुसार महसूल चुक्ता गर्ने सर्वसाधारण मानिसहरू कर्मचारीहरूको अतिरिक्त लोभ पूरा गर्न बाध्य हुन्छन् । यसतर्फ उक्त देशको सत्ता अन्धो र बहिरो हुन्छ । त्यस कारण सामान्य भक्तजनहरू विभिन्न शिवालयहरूमा प्रभुसँग बिन्ती गर्न बाध्य छन् । सामान्यजनको दुःखेसो मैले स्वयम् अवलोकन गरेको छु, प्रभु । यद्यपि ठूलो आकारको बक्यौता राशि नतिरेका उद्योगहरूप्रति सरकार बाहिरी आवरणमा कठोरता प्रदर्शन गरे पनि आन्तरिक आवरण भिन्दै छ । कहिले लाइन काट्ने उद्घोष त कहिले जोड्ने उदारता देखेर आम मानिस छक्क पर्छन् ।

नारदमुनिको प्रस्तुत विवरणले ६१ जना भक्तजन तथा सत्तासाझेदारहरूको हाल बेहाल भयो । उनीहरूले भगवान्सामु उपस्थित नभएकै राम्रो हुन्थ्यो भन्ने सोचिरहेका बेला त्रिकालदर्शीले भन्नुभयो, “अहिले भक्तजनहरूको मनमा उत्पन्न विचारले धैरै कुरा स्पष्ट भइरहेको छ ।” प्रभुको कथन सुनेर उनीहरूले आआफ्नो मस्तिष्कलाई विचारशून्य बनाइराख्ने प्रयत्न गर्न थाले ।

भोलेनाथले नारदमुनितर्फ हेर्दै प्रश्न गर्नुभयो, “हे मुनि ! कानून व्यवस्थाले चल्ने देशमा कसैलाई काखा र कसैलाई पाखा किन भइरहेको छ ? यसको कारण के हो ?”

नारदमुनिले भने, “हे प्रभु ! सामान्य मानिसको पहुँच प्राधिकरणको स्थानीय कार्यालयभन्दा माथि हुँदैन । कर्मचारीहरूले जे भन्छन्, त्यो स्वीकार गर्नुको विकल्प हुँदैन । सामान्यजनको व्यथा माथिसम्म पुग्दैन । अखबारहरूको माध्यमबाट आम वेदना निकायसमक्ष पुगे पनि नपुगेझैं हुन्छ । त्यस कारण आम मानिस व्यथा सुनाउन शिवालय पुग्छन् । तर (६१ जना भक्तजन र सत्ताधारीहरूतर्फ इङ्गित गर्दै) यी महाशयहरूको कसिलो हिमचिम वर्णन गरी साध्य छैन । बेथितिको प्रमुख कारण अर्थमोहको सरोवरमा गोता लगाउनु हो, प्रभु ।

त्रिकालदर्शीले भन्नुभयो, “आफूलाई शक्तिमान र सर्वेसर्वा ठान्ने रावण, कालनेमि, सुबाहु, मारीच, कुम्भकर्ण, कबन्ध, विराध, अहिरावण, मेघनाद आदि अनेकौं राक्षसहरू देवताहरूबाट वर प्राप्त गरे । शक्ति प्राप्त भइसकेपछि कर्तव्यपथबाट विचलित हुँदै गए । अनि विभिन्न कालखण्डमा उनीहरूको पतन भयो । हे भक्त बाँकी कुरा आफैं विचार गर्नु ।” अन्ततः त्रिकालदर्शी १५१ फिट अग्लो प्रतिमूर्तिमा बिस्तारै विलीन हुनुभयो । नारदमुनि पनि अन्तध्र्यान भए ।

कथा नं ६

“प्रभु जी तुम चन्दन हम पानी पानी
जाकि अङ्गअङ्ग बास समानी
जाकि अङ्गअङ्ग बास समानी
प्रभुजी तुम चन्दन हम पानी …”

पशुपतिनाथको मन्दिरअगाडि भजन गाइरहेका भक्तजनको ठूलो भीड थियो । गेरुवा वस्त्रमा सुसज्जित उनीहरूको हातहातमा हारमोनियम, ढोलक, कटझाल आदि कुनै न कुनै वाद्ययन्त्र थियो । उनीहरूको भजन सुन्नेहरूको भीड बढ्यो । भीड आश्चर्यचकित भयो । किनभने भजन गाइरहेका ती अनुहारहरू मानिसहरूलाई चिनेजस्तो लाग्थ्यो । यसै भीडमा प्राधिकरण पनि थियो । उसले बक्यौता अर्बौं रुपैयाँ आउँला र गरीबहरूको झुपडी, किसानहरूको खेत आदि क्षेत्रहरूमा निश्शुल्क उपलब्ध हुने आशा उसको मनमा पलायो ।

भीडमध्ये कतिपय मानिसहरूले सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण गर्न थाले । नेता, सत्तFधारी, फलाना, चिलाना कमेन्ट आइरहेका थिए । केहीबेरमैं क्यामरा, कलम, काजगसहित सञ्चारकर्मीहरू एकपछि अर्को गरी आउन थाले । एकाएक ह्दय परिवर्तन कसरी भयो ? नेता र उद्योगपतिले एकसाथ भगवान्को भक्ति गर्नुको कारण के हो ? डेडिकेटेड फिडर र ट्रङ्कलाइन विवाद के भयो ? आदि प्रश्नहरू सञ्चारकर्मीहरूले गर्न थाले ।

मुस्कुराउँदै उनीहरूले एकमुस्ट प्रतिक्रिया दिंदै भने, “प्रभुजी, तुम चन्दन हम पानी …।” भोलिपल्ट समाचारहरूमा “हाम्रा नेताहरू सुध्रिएझैं देखिए, अब देशको कायापलट होला भन्ने आशा गरौं ।” समाप्त ।

भाग १ : एकादेशको कथा : ट्रङ्कलाइन र डेडिकेटेड विवाद

भाग २ : एकादेशको कथा : ट्रङ्कलाइन र डेडिकेटेड विवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here