काठमाडौं, १९ माघ/रासस
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकोले अबको दुर्ई दिन मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौमसविद् गोविन्दकुमार झाका अनुसार आज र शनिवार मौसममा सुधार रहे पनि आइतवारदेखि देशको पश्चिमी भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकोले केही दिन मौसममा गडबडी हुनेछ ।

बिहीवार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा तथा बाग्मती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौंमा ०.५ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यसैगरी, डढेलधुरामा १४.८, दिपायलमा १२ तथा जुम्लामा २.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here