केन्याको राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते

नैरोबी, केन्या, १९ माघ/एएफपी
केन्याको राजधानी नैरोबीमा ग्याँस बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा दुर्ई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका केन्याका सरकारी उच्च अधिकारीले शुक्रवार बताएका छन् ।

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्–“विस्फोटले आगोको ठूलो लप्काले शहरबीच रहेका सवारी साधन र आवासीय भवनहरूलाई भेटेको र घटनाको समाचार तयार पार्दासम्म कम्तीमा दुर्ईजनाको मृत्यु भएको छ भने दुर्ई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । विस्फोटपछि आगोको लप्का व्यापकरूपमा फैलिएको छ ।”

“फलस्वरूप, आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारी साधन र व्यावसायका लागि राखिएका सामानमा थप क्षति पु-याएको छ”–उनले भने–“घटनास्थल वरपरका आवासीय घरहरूमा पनि आगो लागेको छ । घटना रातिको समय हुँदा धेरै मानिस घरभित्र रहेकाले ठूलो सङ्ख्यामा हताहत भएको पाइएको छ ।

दुर्घटनामा परी कम्तीमा दुर्ईजनाको मृत्यु भएको र अन्य २२२ जनालाई राजधानीका विभिन्न अस्पतालमा लगिएको सरकारी प्रवक्ताले जानकारी दिए । यस अघि केन्या रेडक्रसले करीब ३०० जना घाइते भएका जानकारी दिएको थियो ।

घटनास्थलमा उपलब्ध एएफपीका पत्रकारका अनुसार अग्निनियन्त्रकहरूले स्थानीय समय अनुसार बिहान ७ :०० बजेसम्म आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका थिए । त्यस क्षेत्रबाट कालो धूवाँको ठूलो मुस्लो निस्किरहेको देखिएको थियो ।

राजधानीको दक्षिणपूर्वी क्षेत्रमा बिहीवार राति आगलागी भएको थियो । स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको तस्बिरमा धेरै घरनजीकै ठूलो आगोको गोला देखिएको छ ।

एएफपीका एक पत्रकारका अनुसार धेरै घर र सवारी साधन जलेका छन् ।
“हामी घरमा थियौं र ठूलो विस्फोटको आवाज सुन्यौं”–आगो लागेको ठाउँको छेउछाउ बस्ने जेम्स एनगोगेले एएफपीलाई बताए ।

उनले भने–“विस्फोटका कारण आएको आवाज र ठूलो कम्पनले पूरै भवन हल्लिएको थियो, यो ढल्न लागेको जस्तो लाग्यो । शुरूमा त हामीलाई के भइरहेको छ भन्ने पनि थाहा थिएन, यो भूकम्पजस्तै थियो ।”

घटनापछि घटनास्थल वरपरका धेरै बासिन्दाले घरबाहिर अलि टाढा गएर रात बिताएका थिए ।

सञ्चारमाध्यमले देखाएका भिडियो तथा तस्बिरमा प्रहरीले प्रभावित क्षेत्रलाई घेरेको छ तर केही मानिसले सामानहरू सङ्कलन गरेको र क्षतिको सर्वेक्षण गरेको देख्न सकिन्छ ।

“घटनास्थल सुरक्षित भइसकेको छ र उद्धार र अन्य हस्तक्षेप प्रयासमा सहयोग पु-याउन कमान्ड सेन्टर बनाइएको छ”–मवौराले भने ।

यस अघि, सन् २०१८ मा नैरोबीको जिकोम्बा बजारमा भएको आगलागीमा परी १५ जनाको मृत्यु भएको थियो र त्यस आगलागीमा ७० जना घाइते भएका थिए । रासस

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्